काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले यस साताको सम्भावित मौसमी अवस्था तथा विपद् जोखिम न्यूनीकरणका लागि सरकारले गरिरहेको पूर्वतयारीबारे जानकारी लिएका छन्।
बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती र जल तथा मौसम विज्ञान विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठलाई बोलाएर कार्यवाहक प्रधानमन्त्री वाग्लेले मौसम तथा जलवायुको अवस्था र सरकारी तयारीबारे जानकारी लिएका हुन्।
छलफलका क्रममा महानिर्देशक श्रेष्ठले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली तथा मनसुनी वायुको सक्रियताका कारण नेपालभर उच्च सतर्कता (हाई अलर्ट) अपनाइएको जानकारी गराइन्।
यस्तै, प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले विपद्सम्बन्धी सूचना तथा समन्वयका लागि चौबिसै घण्टा सूचना डेस्क सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार विपद्को उच्च जोखिममा रहेका जिल्लाका जिल्ला प्रशासन कार्यालयसँगै पर्यटन, यातायात तथा पूर्वाधारलगायत सम्बन्धित क्षेत्रसँग आवश्यक समन्वय भइरहेको छ।
छलफलमा आगामी आइतबारदेखि मात्र मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको जानकारी गराइएको थियो। कार्यवाहक प्रधानमन्त्री वाग्लेले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र आवश्यक पूर्वतयारीलाई प्राथमिकता दिन निर्देशन दिएका छन्।


