Wednesday, September 23, 2026
Homeराजनीतिकांग्रेसमा दुई महाधिवेशनको अवस्था, बद्री पाण्डे भन्छन्– ‘एकतामा नआउनु गल्ती भयो’

कांग्रेसमा दुई महाधिवेशनको अवस्था, बद्री पाण्डे भन्छन्– ‘एकतामा नआउनु गल्ती भयो’

काठमाडौं । नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन नभए पनि पार्टीभित्र दुई पक्षले छुट्टाछुट्टै महाधिवेशनका कार्यक्रम अघि बढाएका छन् । संस्थापन पक्षले वडा अधिवेशन सुरु गरिसकेको छ भने इतर समूहले असोज १५ गतेदेखि अधिवेशनको कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।

यसैबीच, केही नेताहरूले डा. शेखर कोइरालाको नेतृत्वमा कुनै पनि महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि मध्यस्थता गर्ने बताएका छन् । निवर्तमान सहमहामन्त्री बद्री पाण्डे पनि यही समूहमा छन् ।

पाण्डेका अनुसार कांग्रेसमा दुई वटा महाधिवेशन हुनु नदिन र सबै पक्षलाई समेटेर एकताको महाधिवेशन गराउन आफूहरूले प्रयास गरे पनि सफल हुन सकेन । उनले दुवै पक्षका महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि पहल जारी राख्ने बताए ।

उनले असोज ३ र ४ गते भएको वडा अधिवेशनमा आफ्नो समूह सहभागी नभएको र असोज १५ गतेदेखि सुरु हुने अधिवेशनमा पनि सहभागी नहुने स्पष्ट पारे ।

पाण्डेले भने, “विभाजित भएर दुई वटा अधिवेशन हुँदै गर्दा कुनैमा पनि नजाऔँ, बरु दुवै अधिवेशनलाई ढिलोचाँडो एक बनाउने अभियानलाई जोगाइराखौँ भन्ने पक्षमा हामी छौँ ।”

उनका अनुसार पार्टी एकताका लागि सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच प्रत्यक्ष भेटवार्ता आवश्यक थियो । तर, दुवै नेताबीच भेट हुन नसक्दा सहमतिको बाटो थप कठिन बनेको उनको भनाइ छ ।

पाण्डेका अनुसार केही समयअघि दुवै पक्षलाई समेटेर महाधिवेशनमा सहभागी गराउने विषयमा सहमतिको सम्भावना देखिएको थियो । क्रियाशील सदस्यता नवीकरण गरेका सबैलाई महाधिवेशनमा सहभागी गराउने, केन्द्रीय कार्यसमितिमा आवश्यक समायोजन गर्ने तथा महाधिवेशनसँग सम्बन्धित समिति र उपसमितिमा सबै पक्षको सहभागिता सुनिश्चित गर्ने विषयमा छलफल भएको उनले बताए ।

तर, ती प्रस्तावमा सहमति हुन नसकेको पाण्डेको भनाइ छ । सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विवाद पुगेपछि र त्यसमा पुनरवलोकनको निवेदनमा निस्सा प्राप्त भएपछि दुवै पक्षका अडान थप कडा बनेको उनले बताए ।

उनले महाधिवेशन केही समय पर सारेर सबै पक्षको सहभागिता सुनिश्चित गर्न सकिने भए पनि त्यसो हुन नसकेको बताए । उनका अनुसार वडा अधिवेशनको प्रक्रिया अघि बढिसकेपछि छुटेको पक्षलाई पुनः समेट्न झन् कठिन भएको हो ।

पाण्डेले कांग्रेसमा अहिले देखिएको विवाद विगतका गुटगत विवादभन्दा फरक रहेको पनि बताए । उनका अनुसार विगतमा एकता, मेलमिलाप, सद्भाव र एकअर्काको संवेदनशीलता बुझ्ने राजनीतिक संस्कार तुलनात्मक रूपमा बलियो थियो ।

“कुनै बेला पार्टी नै दुई वटा भइसकेको कांग्रेसलाई शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाहरूको नेतृत्वले सजिलो गरी एकता गर्नुभएको थियो । अहिले त पार्टी फुटेको पनि थिएन, फुटतिर जाँदै थियो,” उनले भने ।

उनले कांग्रेस विभाजित नहोस् भन्ने चाहना पार्टीका कार्यकर्तामात्र नभई लोकतन्त्रमा विश्वास गर्ने धेरै मानिसमा रहेको बताए । शीर्ष नेताबीच संवाद हुन नसक्नु र एकताका लागि पर्याप्त पहल नहुनु राजनीतिक संस्कारमा आएको क्षयीकरणका रूपमा समीक्षा गर्नुपर्ने उनको धारणा छ ।

पाण्डेले अब दुई पक्ष छुट्टाछुट्टै अधिवेशनको प्रक्रियामा अघि बढिसकेकाले तत्काल समाधानको स्पष्ट मार्गचित्र नरहेको बताए । यद्यपि, अन्ततः दुवै पक्ष एउटै विन्दुमा आएर पार्टी एकता कायम गर्नुपर्ने उनको जोड छ ।

“एकतामा नआउनु गल्ती थियो । यसबाट भोलिका दिनमा ठूलो पछुतो हुन्छ । पार्टीलाई क्षति हुन्छ । अब जे गल्ती भयो, भइहाल्यो । दुईतिर अधिवेशन गर्ने दिशा हामीले रोजिसक्यौँ । ढिलो–चाँडो हामी एउटै विन्दुमा आउनुपर्छ,” पाण्डेले भने ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका