Wednesday, September 23, 2026
Homeअन्तराष्ट्रियश्रीलङ्काको इस्टर सन्डे हमला मुद्दामा १५ दोषी, सजाय २०० देखि २६० वर्षसम्म

श्रीलङ्काको इस्टर सन्डे हमला मुद्दामा १५ दोषी, सजाय २०० देखि २६० वर्षसम्म

काठमाडौं । श्रीलङ्काको कोलम्बोस्थित उच्च अदालतको ‘ट्रायल–एट–बार’ले सन् २०१९ को इस्टर सन्डे आत्मघाती बम विस्फोटसम्बन्धी मुद्दामा १५ जना अभियुक्तलाई दोषी ठहर गर्दै २०० देखि २६० वर्षसम्मको कठोर कैद सजाय सुनाएको छ। अदालतले दोषी ठहर भएकाहरूको चल–अचल सम्पत्ति राज्यको नाममा जफत गर्नसमेत आदेश दिएको छ।

अदालतमा मुद्दा खेपिरहेका २४ अभियुक्तमध्ये १५ जना दोषी ठहर भएका छन् भने नौ जनाले सफाइ पाएका छन्। तीन सदस्यीय इजलासले करिब पाँच वर्ष लामो सुनुवाइपछि मंगलबार फैसला सुनाएको हो। मुद्दामा २३ हजार २७० वटा अभियोग समावेश थिए र सरकारी पक्षबाट २ हजार ३०९ जना साक्षीले बयान दिएका थिए।

सन् २०१९ अप्रिल २१ मा इस्टर सन्डेका दिन श्रीलङ्काका तीन चर्च र तीन होटललाई लक्षित गरी श्रृंखलाबद्ध आत्मघाती बम विस्फोट गराइएको थियो। उक्त घटनामा २७० भन्दा बढी मानिसको मृत्यु भएको र ५०० भन्दा बढी घाइते भएको विभिन्न स्रोतले जनाएका छन्।

दोषी ठहर भएकामध्ये मोहम्मद इब्राहिम मोहम्मद नौफर उर्फ ‘नौफर मौलवी’ पनि छन्। उनलाई घटनाको योजनामा महत्वपूर्ण भूमिका खेलेको अभियोजन पक्षले दाबी गरेको थियो।

अदालतले दोषी ठहर भएकामध्ये पाँच जनालाई २०० वर्ष, पाँच जनालाई २२० वर्ष, चार जनालाई २४० वर्ष र एक जनालाई २६० वर्षको कठोर कैद सजाय सुनाएको छ।

यो मुद्दा सन् २०१९ को इस्टर सन्डे हमलासँग सम्बन्धित मुख्य आपराधिक मुद्दामध्ये एक हो। घटनापछि श्रीलङ्कामा सुरक्षा निकायलाई प्राप्त पूर्वसूचनामाथि समयमै कारबाही नभएको विषयमा पनि प्रश्न उठेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका