काठमाडौं । रुसमा संसदीय निर्वाचनको अन्तिम दिन राजधानी मस्कोमा ठूलो ड्रोन आक्रमण भएको छ। युक्रेनले मस्को क्षेत्रमा एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको दाबी गरिएको छ। आक्रमणका कारण मस्कोस्थित एक तेल प्रशोधन केन्द्रमा क्षति पुगेको र आगलागी भएको बताइएको छ।
आगलागीपछि टाढाबाटै आगोको लप्का र धुवाँको मुस्लो देखिएको थियो। घटनास्थल आसपास विस्फोटका आवाजसमेत सुनिएको स्थानीय स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
मस्कोका मेयर सर्गेई सोब्यानिनले आइतबार टेलिग्राममार्फत ड्रोनले मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको जानकारी दिएका छन्। रुसी सरकारी समाचार संस्था ‘तास’ले पनि मेयर सोब्यानिनलाई उद्धृत गर्दै आक्रमणका कारण रिफाइनरीमा क्षति पुगेको जनाएको छ।
रुसी अधिकारीहरूका अनुसार ड्रोन आक्रमणका क्रममा दुई जनाको मृत्यु भएको खबर आएको छ। यद्यपि मृतकको पहिचान तथा घटनाको विस्तृत विवरणबारे तत्काल थप जानकारी सार्वजनिक भएको छैन।
यसैबीच, विभिन्न समाचार एजेन्सीहरूले सामाजिक सञ्जालमा सार्वजनिक भएका घटनासम्बन्धी भिडियोको स्थान पुष्टि गरेका छन्। भिडियोमा टाढा एउटा क्षेत्रमा आगो बलिरहेको र आकाशमा बाक्लो धुवाँको मुस्लो उठिरहेको देखिन्छ।
यता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्को क्षेत्रमा गरिएको युक्रेनको पछिल्लो लामो दूरीको सैन्य कारबाहीले रुसमा ठूलो प्रभाव पारेको बताएका छन्। उनले रुसको महत्वपूर्ण तेल उद्योगसँग सम्बन्धित एक स्थान र एउटा लजिस्टिक्स केन्द्रलाई निशाना बनाइएको दाबी गरेका छन्।
मस्कोमा भएको पछिल्लो ड्रोन आक्रमणबारे युक्रेनले आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन। रुस र युक्रेनबीच जारी युद्धका क्रममा पछिल्लो घटनाले दुवै पक्षबीच लामो दूरीका ड्रोन आक्रमणको क्रम जारी रहेको देखाएको छ।


