Thursday, September 17, 2026
Homeसामाचाररसुवा–नुवाकोटका ११ जलविद्युत आयोजनामा बाढीको असर, सुरुङबाट ९ शव निकालियो

रसुवा–नुवाकोटका ११ जलविद्युत आयोजनामा बाढीको असर, सुरुङबाट ९ शव निकालियो

काठमाडौँ । चीनको ल्हेन्दे खोला हुँदै आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार प्रभावित सबै आयोजनाका सुरुङमा मानिस फसेका छन्। नेपाली सेनाको नेतृत्वमा हाल ६ वटा आयोजनामा खोज तथा उद्धार कार्य जारी छ।

हालसम्म विभिन्न आयोजनाका सुरुङबाट ९ वटा शव निकालिएको छ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा दुई जनाको शव भेटिएको थियो। ड्रोनको प्रयोग गरी गरिएको खोजीका क्रममा उनीहरूको शव फेला परेको हो।

त्यस्तै, लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट यसअघि दुई जनाको शव निकालिएको थियो। चिलिमे जलविद्युत आयोजनामा एउटा खुट्टाको भागसहित चार जनाको शव फेला परेको छ भने त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट एक जनाको शव भेटिएको थियो।

नेपाली सेना, सशस्त्र प्रहरी बल, विदेशबाट आएका सुरुङ विशेषज्ञ तथा आयोजनाका प्राविधिकसहितको उद्धार टोलीले हालसम्म सुरुङबाट तीन जनालाई जीवितै उद्धार गरेको छ।

भदौ १९ गते त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय साह र कबिर महर्जनलाई सकुशल उद्धार गरिएको थियो। त्यसको भोलिपल्ट भदौ २० गते माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङभित्र करिब २२५ मिटरको दूरीमा फसेका चिनियाँ नागरिक लुआइतोको पनि जीवितै उद्धार गरिएको थियो।

रसुवागढी जलविद्युत आयोजनाबाट पनि सुरुमा दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

यता, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाको पावरहाउस क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारिएको छ। उद्धारका लागि नेपाली सेनाले स्याफ्रुबेँशीदेखि चिलिमेसम्म हेभी उपकरण लैजान आवश्यक बाटो निर्माण गरेको छ।

बाढीबाट प्रभावित जलविद्युत आयोजनाका सुरुङ तथा संरचनामा फसेकाहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, सुरुङ विशेषज्ञ र आयोजनाका प्राविधिकहरू संयुक्त रूपमा परिचालन भएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका