Saturday, September 5, 2026
Homeअर्थ र ब्यापारकृष्णभिरमा सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था

कृष्णभिरमा सडक अवरुद्ध भएपछि उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने ग्यासको अभाव हटाउन उद्योगीहरूले वैकल्पिक आपूर्ति व्यवस्था थालेका छन्। नेपाल आयल निगमले उपत्यकाबाहिरका उद्योगमा ग्यास ‘बोटलिङ’ गरी सिलिण्डर उपत्यका ल्याउन अनुमति दिएपछि उद्योगीहरूले विभिन्न प्लान्टमार्फत आपूर्ति व्यवस्थापन गर्न थालेका हुन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी र सदस्य विमल कालाखेतीसहितको टोलीले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउने प्रयास थालेको छ।

सङ्घका पूर्वअध्यक्ष भण्डारीका अनुसार उपत्यकाबाहिर रहेका ग्यास उद्योगमा पर्याप्त खाली सिलिण्डर छैनन्। त्यसैले उपत्यकामा रहेका खाली सिलिण्डर ट्रकमार्फत बाहिरका उद्योगसम्म पुर्‍याउने र त्यहीँ ग्यास भरेर पुनः उपत्यका ल्याउने व्यवस्था मिलाइएको छ।

नेपाल ग्यासका सञ्चालकसमेत रहेका भण्डारीका अनुसार नेपाल ग्यासका सिलिण्डर चितवनस्थित नेपाल ग्यास गण्डकीको प्लान्टमा ‘बोटलिङ’ भइरहेका छन्। तर खाली सिलिण्डरको अभावका कारण मागअनुसार ग्यास भर्न समस्या भइरहेको छ।

नेपाल ग्यासले सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ११ हजार सिलिण्डर बिक्री गर्दै आएको छ। अहिले केही दिनभित्रै दैनिक आठदेखि १० हजार सिलिण्डर काठमाडौं पठाउने गरी तयारी भइरहेको भण्डारीले बताए।

सङ्घका सदस्य विमल कालाखेतीका अनुसार अन्य ग्यास उद्योगले पनि उपत्यकाबाट खाली सिलिण्डर ट्रकमा बाहिर लगेर ‘बोटलिङ’ गरी पुनः राजधानी ल्याउन थालेका छन्। रातिको समयमा कान्ति लोकपथमा मालवाहक सवारी सञ्चालनमा प्रतिबन्ध रहेकाले खाली सिलिण्डर बोकेका ट्रक आउजाउमा केही ढिलाइ भएको उनले बताए।

हाल बाबा ग्यासले नौबिसेस्थित श्री ग्यासका सिलिण्डरमा ग्यास भरेर पठाएको छ भने चितवनको साईबाबा ग्यासले आफ्नै सिलिण्डरमा ग्यास भरेर काठमाडौं पठाइरहेको छ। त्यस्तै, गैंडाकोटस्थित जानकी ग्यासमा नौबिसेको श्रीराम ग्यासका सिलिण्डरमा तथा हेटौँडाको साहारा ग्यासमा काठमाडौंका एभरेष्ट र सुगम ग्यासका सिलिण्डरमा ग्यास भरेर पठाइएको छ।

बनेपाको सगरमाथा ग्यासले परासीको चण्डी ग्यासमा ग्यास भरेर पठाइरहेको छ। बनेपाका लोकप्रिय, सुपर र तारा ग्यासलगायत उद्योगले पनि राजधानीबाहिरका विभिन्न उद्योगमा ग्यास भरेर त्रिभुवन राजपथ हुँदै सिलिण्डर काठमाडौं पठाउन थालेका छन्।

उपत्यका र आसपासका जिल्लामा गरी १६ वटा ग्यास उद्योग सञ्चालनमा रहेका छन्।

सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ४० हजार सिलिण्डर ग्यास आवश्यक पर्छ। अहिलेको संकटपूर्ण अवस्थामा भने दैनिक खपत एक लाख सिलिण्डरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

उद्योगीहरूले आपूर्ति र ढुवानी व्यवस्थापनलाई संगठित रूपमा अघि बढाइरहेकाले केही दिनभित्रै ग्यासको समस्या समाधान हुने चन्दले बताए। उनले उपभोक्तालाई आवश्यक मात्रामा मात्रै ग्यास खरिद गर्न र घरमा अनावश्यक मौज्दात नराख्न आग्रह गरेका छन्।

उनका अनुसार एउटा ग्यास बुलेटमा करिब ४५० सिलिण्डर बराबरको ग्यास आउँछ। ठूलो ट्रकले भरिएका करिब ५०० सिलिण्डर र खाली अवस्थामा करिब ६०० सिलिण्डर बोक्न सक्छ। नेपालमा सञ्चालित ५८ वटा ग्यास उद्योगले भर्ने कुल ग्यासमध्ये करिब ४० प्रतिशत उपत्यकामा खपत हुने गरेको छ।

राजधानी नजिकका उद्योगहरूले अहिले दुई सिफ्टमा ग्यास ‘बोटलिङ’ गरिरहेका छन्। गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल भित्रिएको थियो, जुन हालसम्मकै उच्च परिमाण भएको सङ्घले जनाएको छ। सोही अनुपातमा नियमित ग्यास आयात भइरहेकोले दीर्घकालीन रूपमा आपूर्तिमा समस्या नहुने उद्योगीहरूको भनाइ छ।

साल्ट ट्रेडिङले पनि वैकल्पिक प्लान्टबाट ग्यास भर्दै

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले पनि उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन निजी ग्यास उद्योगसँग सहकार्य गरी आफ्ना ‘एसटिसी सिलिण्डर’मा ग्यास भर्न थालेको छ।

गत आइतबार धादिङको कृष्णभिरमा त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कर्पोरेशनको धादिङ जुगेखोलास्थित एलपीजी प्लान्टमा ग्यासका बुलेट पुग्न नसक्ने अवस्था सिर्जना भएको थियो।

त्यसपछि कर्पोरेशनले वैकल्पिक व्यवस्था गर्दै सहज स्थानमा रहेका मनोज र बाबा ग्यासका प्लान्टसँग सहकार्य गरी आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं ल्याउने व्यवस्था मिलाएको जनाएको छ।

प्राकृतिक विपद्का कारण आपूर्ति प्रभावित भए पनि उपभोक्तालाई ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरिएको कर्पोरेशनले जनाएको छ।

नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून कोटा अर्थात् ‘पीडीओ’ उपलब्ध गराउँदा पर्याप्त ग्यास बिक्री गर्न नसकिएको कर्पोरेशनको भनाइ छ। निगमले भारतीय आयल कर्पोरेशनसँग कुल तीन हजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेकोमा करिब दुई प्रतिशत अर्थात् ५३ वटा बुलेट मात्र कर्पोरेशनको भागमा परेको जनाइएको छ।

कर्पोरेशनले हाल मासिक करिब ५५ हजारदेखि ६० हजार ‘एसटिसी सिलिण्डर’ खपत गर्दै आएको छ।

निजी क्षेत्रका ग्यास कम्पनीहरूले विभिन्न कारण देखाएर आपूर्ति प्रभावित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेको भए पनि साल्ट ट्रेडिङले हाल कुपन प्रणालीमार्फत ग्यास बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाइरहेको जनाएको छ।

नारायण अधिकारी / रासस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका