काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको ग्वाङजाउमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा **‘आरोहण २०२६’**ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीचको एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सम्मेलनको सफलताको शुभकामना सन्देश दिँदै मन्त्री खनालले आयोजक समिति तथा सम्मेलनमा सहभागी सम्पूर्ण प्रतिनिधिलाई नेपाल सरकार, परराष्ट्र मन्त्रालय र आफ्नो व्यक्तिगततर्फबाट शुभकामना व्यक्त गरेका हुन्।
उनले चीनको ग्वाङजाउमा अगस्ट १५ र १६, २०२६ मा आयोजना भइरहेको ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को सफलताको कामना गरेका छन्।
शुभकामना सन्देशमा मन्त्री खनालले विश्वका विभिन्न मुलुकमा रहेर पनि गैरआवासीय नेपालीले मातृभूमिप्रतिको माया, अपनत्व र जिम्मेवारीलाई निरन्तर जीवन्त राख्दै नेपालको विकास यात्रामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गरेका छन्।
उनले गैरआवासीय नेपालीको योगदानलाई नेपाल सरकारले उच्च मूल्यांकन गर्दै आएको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरणमा उनीहरूले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेका छन्।
मन्त्री खनालले सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा रहेका नेपाली समुदायबीच सहकार्यलाई थप विस्तार गर्नुका साथै नेपाल र प्रवासी नेपालीबीच आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।


