काठमाडौँ । सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई मृत्युदण्डको सजाय सुनाइएको छ। सिरियाको एक अदालतले मंगलबार पूर्वराष्ट्रपति असद र उनका कान्छा भाइलाई मृत्युदण्डको फैसला सुनाएको हो।
सिरियामा करिब १४ वर्षसम्म चलेको गृहयुद्धका क्रममा मानवताविरुद्धको अपराध तथा युद्ध अपराध गरेको ठहर गर्दै अदालतले उनीहरूलाई मृत्युदण्डको सजाय सुनाएको बताइएको छ। उक्त द्वन्द्वमा करिब पाँच लाख मानिसको मृत्यु भएको अनुमान छ।
सजाय सुनाइँदा असद अदालतमा उपस्थित थिएनन्। सिरियामा सत्ता परिवर्तन भएपछि उनी हाल रुसमा निर्वासनमा बस्दै आएका छन्।
यसै मुद्दामा असदका मामाका छोरा आतिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। नजिबमाथि सिरियाको दक्षिणी प्रान्त दारामा भएको दमनकारी कारबाहीको नेतृत्व गरेको आरोप थियो। उक्त कारबाहीपछि सुरु भएको विद्रोह क्रमशः देशव्यापी द्वन्द्वमा परिणत भएको थियो।
कडा सुरक्षा व्यवस्थाबीच अदालतमा फैसला सुनाइँदा नजिब कैदीको पोसाकमा फलामको पिँजडाभित्र उभिएका थिए। अदालतको फैसलापछि उनीहरूमाथि लागेको गम्भीर मानवअधिकार उल्लङ्घन तथा युद्ध अपराधसम्बन्धी आरोपमा कानुनी प्रक्रिया अघि बढेको छ।


