Sunday, August 9, 2026
Homeअपराध र घटनासस्तोमा डलर साट्ने प्रलोभनमा ९ ठाउँमा लुटपाट, चार जना पक्राउ

सस्तोमा डलर साट्ने प्रलोभनमा ९ ठाउँमा लुटपाट, चार जना पक्राउ

काठमाडौँ । सस्तो मूल्यमा अमेरिकी डलर साटिदिने प्रलोभन देखाएर काठमाडौँका विभिन्न स्थानमा लुटपाट गर्दै आएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भई गोकर्णेश्वर बस्ने ३० वर्षीय धनबहादुर तामाङ, कपन बस्दै आएका ४१ वर्षीय लोकबहादुर तामाङ, बुढानीलकण्ठ नगरपालिका–१३ कुनिखेलका ३८ वर्षीय राजकुमार लामा र बौद्ध बस्ने ३५ वर्षीय विजय तामाङ छन् ।

उनीहरूलाई साउन ८ गते प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बुढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति चोकबाट पक्राउ गरेको हो ।

४० हजार डलरको झुटो कथा सुनाएर ११ लाख लुटे

प्रहरी अनुसन्धानका क्रममा गिरोहले अपनाउने गरेको ठगीको शैलीसमेत खुलेको छ ।

काठमाडौँमा रिकन्डिसन व्यवसाय गर्दै आएका एक व्यवसायीलाई गिरोहका एक सदस्यले फोन गरी आफू उनको पुरानो ड्राइभर भएको र अहिले ट्रेकिङ व्यवसायमा संलग्न रहेको बताएका थिए ।

उनले विदेशी पर्यटकले सगरमाथा तथा अन्नपूर्ण क्षेत्रमा भ्रमण गर्दा ४० हजार अमेरिकी डलर छाडेर गएको र उक्त रकम आफूले फेला पारेको दाबी गरे । डलर सक्कली हो कि होइन जाँच गरिदिन भन्दै उनले व्यवसायीलाई ५० अमेरिकी डलरसमेत दिएका थिए ।

व्यवसायीले बैंक तथा मनी चेन्जरमा जाँच गर्दा उक्त डलर सक्कली रहेको पुष्टि भयो । त्यसपछि ती युवकले बाँकी डलर ल्याए आफूले साटिदिने व्यवसायीले बताए ।

४० हजार डलर साट्दा करिब ५० लाख रुपैयाँ आउने भए पनि आफूलाई ११ लाख रुपैयाँ दिए पुग्ने भन्दै युवकले प्रस्ताव गरेपछि व्यवसायी लोभिए ।

त्यसपछि उनलाई नेपाली रुपैयाँ लिएर शंखरापुर नगरपालिका–५ पालुबारीस्थित जंगलनजिक बोलाइयो । व्यवसायी त्यहाँ पुग्दा थप तीन–चार जना मानिस थिए ।

उनीहरूले डलर भएको भन्दै रबरले बाँधिएको बन्डल दिएर व्यवसायीबाट ११ लाख रुपैयाँ लिए र फरार भए । व्यवसायीले बन्डल खोलेर हेर्दा बीचमा कागजका टुक्रा र माथि–तल केही वटा मात्र सक्कली डलर भेटिएपछि आफू ठगिएको थाहा पाए । त्यसपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

नौ ठाउँमा लुटपाट गरेको प्रहरीको निष्कर्ष

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार पक्राउ परेका समूहले जेनजी आन्दोलनपछि मात्रै काठमाडौँका कागेश्वरी मनोहरा, शंखरापुर, बुढानीलकण्ठ र तारकेश्वरका विभिन्न नौ स्थानमा सस्तोमा डलर साटिदिने प्रलोभन देखाएर लुटपाट गरेको अनुसन्धानबाट खुलेको छ ।

लुटपाटमा संलग्न चारै जना सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का स्थानीय रहेको प्रहरीले जनाएको छ ।

मुख्य आरोपीको आपराधिक पृष्ठभूमि

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार धनबहादुर तामाङ यसअघि पनि विभिन्न डलर ठगीसम्बन्धी घटनामा अनुसन्धानमा परिसकेका व्यक्ति हुन् । उनीविरुद्ध यसअघि पटक–पटक मुद्दा चलाइएको प्रहरी अभिलेखमा देखिएको छ ।

२०७९ असोजमा प्रहरी वृत्त महाराजगञ्जले उनलाई दुईवटा डलर ठगीसम्बन्धी घटनामा अनुसन्धान गरेको थियो । सोही महिनामा प्रहरी वृत्त बौद्धले पनि उनीविरुद्ध डलर ठगीका दुईवटा मुद्दा चलाएको अभिलेखमा उल्लेख छ । २०८२ मंसिरमा काठमाडौँ परिसर र नुवाकोट प्रहरीले समेत उनीविरुद्ध डलर ठगीसम्बन्धी मुद्दामा अनुसन्धान गरेको देखिएको प्रहरीले जनाएको छ ।

अर्का आरोपी लोकबहादुर तामाङको पनि आपराधिक पृष्ठभूमि रहेको प्रहरीको भनाइ छ । उनीविरुद्ध यसअघि खोटा चलन, अभद्र व्यवहार, डलर ठगी र बैंकिङ कसुरसम्बन्धी विभिन्न मुद्दामा अनुसन्धान भएको प्रहरी अभिलेखमा उल्लेख छ ।

पक्राउपछि पनि पालुबारीमा दुई घटना

प्रहरीले गिरोहका चार सदस्यलाई पक्राउ गरिसकेपछि पनि शंखरापुरको पालुबारी क्षेत्रमा डलरको आवरणमा दुईवटा लुटपाट भएको प्रहरीले जनाएको छ ।

एसएसपी घिमिरेका अनुसार साउन १८ र १९ गते भएका ती घटनामा क्रमशः ११ लाख र १५ लाख रुपैयाँ लुटिएको थियो । घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सक्कली डलर देखाएर विश्वास दिलाउने

प्रहरीका अनुसार लुटेराहरूले सुरुमा एक–दुईवटा सक्कली डलर देखाएर पीडितको विश्वास जित्ने गरेका छन् । त्यसपछि ठूलो परिमाणमा डलर सस्तोमा दिने भन्दै एकान्त वा जंगल क्षेत्रमा बोलाउने र रकम लिएपछि डलरको सट्टा रबरले बाँधिएको कागजको बन्डल दिएर फरार हुने गरेका छन् ।

एसएसपी घिमिरेले सस्तो मूल्यमा डलर दिने भन्दै अपरिचित व्यक्तिले एकान्त स्थानमा बोलाएमा त्यस्ता प्रस्तावमा विश्वास नगर्न आग्रह गरेका छन् ।

उनले भने, “सस्तोमा डलर दिन्छु भन्नेले जंगल क्षेत्रमा बोलाउँदा शंका गर्नुपर्छ । त्यस्तो एकान्त ठाउँमा जानु हुँदैन।”

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका