Wednesday, August 5, 2026
Homeअर्थ र ब्यापारअर्थमन्त्री वाग्ले भन्छन्: आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकबीच सहकार्य आवश्यक

अर्थमन्त्री वाग्ले भन्छन्: आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकबीच सहकार्य आवश्यक

काठमाडौं । अर्थमन्त्री **स्वर्णिम वाग्ले**ले अर्थतन्त्र विस्तार गरी उच्च आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकिङ क्षेत्रबीच सशक्त सहकार्य आवश्यक रहेको बताएका छन्।

मंगलबार अर्थ मन्त्रालयले नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग आयोजना गरेको छलफलमा उनले बैंकिङ क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

अर्थमन्त्री वाग्लेले बैंकहरूलाई आफ्नो क्षेत्रका नीतिगत तथा व्यावहारिक समस्या खुलस्त रूपमा राख्न आग्रह गर्दै सरकारले आवश्यक सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे।

‘अर्थतन्त्र विस्तार गर्ने लक्ष्यका साथ सरकारले आर्थिक नीतिको दिशा परिवर्तन गरेको छ। अब अर्थतन्त्रलाई ७४ खर्ब रुपैयाँको आकारमा पुर्‍याउने लक्ष्य लिइएको छ। त्यसका लागि लगानी विस्तार, रोजगारी सिर्जना र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ,’ उनले भने।

उनले बैंकहरूले कर्जा विस्तार गर्न नसक्नुका कारणबारे जानकारी माग्दै सरकारले गर्नुपर्ने सुधारका विषयहरू एकीकृत रूपमा मन्त्रालयमा पेस गर्न आग्रह गरे। आवश्यक नीतिगत सुधारका लागि सरकार सकारात्मक रहेको उनको भनाइ थियो।

छलफलमा सहभागी बैंकका प्रमुख कार्यकारी अधिकृतहरूले मुलुकमा लगानीको वातावरण नभएको भन्ने धारणा पूर्ण रूपमा सही नभएको बताए। उनीहरूका अनुसार केही पुराना नियामकीय व्यवस्थाका कारण बैंकिङ क्षेत्रमा चुनौती देखिए पनि आवश्यक सुधारमार्फत त्यसलाई समाधान गर्न सकिन्छ।

बैंकरहरूले जलविद्युत् क्षेत्रमा लगानीका लागि बैंकहरूबीच प्रतिस्पर्धा बढिरहेको उल्लेख गर्दै अन्य उत्पादनमूलक क्षेत्रमा पनि विस्तारै लगानीको माग बढ्ने संकेत देखिएको बताए। उनीहरूले अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकार र नेपाल राष्ट्र बैंक बाट तत्काल केही नीतिगत सहजीकरण आवश्यक रहेको धारणा राखे।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत **सन्तोष कोइराला**ले जलविद्युत् क्षेत्रमा बढ्दो लगानीलाई थप सहज बनाउन सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले ठूला परियोजना समयमै सम्पन्न गर्न र साना तथा ठूला व्यवसायीको विश्वास जित्ने वातावरण बनाउनुपर्ने सुझाव दिए।

सिटिजन्स इन्टरनेसनल बैंकका प्रमुख कार्यकारी अधिकृत **गणेश पोखरेल**ले बैंकिङ क्षेत्रको वर्तमान सुस्ततालाई आर्थिक चक्रको स्वाभाविक अवस्थाका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरे।

त्यस्तै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत **सुरेन्द्र रेग्मी**ले बजारमा व्यवसायीको आत्मविश्वास वृद्धि गर्न नीतिगत पहल आवश्यक रहेको बताए। उनले बैंकहरूको कर्जा प्रवाह क्षमता बढाउन राष्ट्र बैंकबाट थप सहजीकरण हुनुपर्ने र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन कम्पनी छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत **सुदेश खालिङ**ले कर्जा प्रवाहलाई ग्रामीण क्षेत्र तथा विपन्न वर्गसम्म विस्तार गर्नुपर्नेमा जोड दिए। साथै सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गति दिनुपर्ने र सरकारी निकायको कार्यक्षमता अभिवृद्धि गर्नुपर्ने सुझाव दिए।

यस्तै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत **अशोक राणा**ले नयाँ आर्थिक वर्षमा उद्योगी तथा व्यवसायीहरू लगानी विस्तार गर्न उत्साहित देखिएको बताए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका