Monday, July 20, 2026
Homeराजनीतिकांग्रेस संस्थापनइतरको पाँच बुँदे प्रस्ताव सार्वजनिक, पार्टी एकता र १५औँ महाधिवेशनमा जोड

कांग्रेस संस्थापनइतरको पाँच बुँदे प्रस्ताव सार्वजनिक, पार्टी एकता र १५औँ महाधिवेशनमा जोड

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्रको एकता सुदृढ बनाउने उद्देश्यसहित पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेको छ। संस्थापन पक्षबाट पार्टी एकताका विषयमा भ्रम फैलाइएको दाबी गर्दै इतर समूहले आफ्नो धारणा सार्वजनिक गरेको हो।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश र जिल्ला सभापतिहरूको बैठकपछि नेता मीन विश्वकर्माले विज्ञप्ति जारी गर्दै पार्टी एकताबारे बजारमा फैलिएका हल्लाहरू निराधार र भ्रामक भएको बताएका छन्।

विज्ञप्तिअनुसार उपसभापति विश्वप्रकाश शर्माले अघि सारेका प्रस्तावमाथि जेठ १८ गते नै औपचारिक छलफल गरिएको र सहमतिका आधारमा अघि बढ्ने प्रयास भएको उल्लेख गरिएको छ।

इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष महाधिवेशनबाट चयन हुने कार्यसमितिसँग समायोजन गरी सभापति गगनकुमार थापाको नेतृत्वमा केन्द्रीय कार्यसमितिलाई पूर्णता दिन प्रस्ताव गरेको छ। साथै, सभापति थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति गठन गर्नुपर्ने धारणा पनि राखिएको छ।

प्रस्तावमा पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै १५औँ महाधिवेशनको कार्यतालिका घोषणा गर्नुपर्ने तथा महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिहरूमा वर्तमान संस्थापन पक्षको बहुमत रहने व्यवस्था गर्नुपर्ने उल्लेख छ।

त्यसैगरी, तत्कालीन महामन्त्री गगन थापा संयोजक रहेको समितिले टुंगो लगाएका सबै क्रियाशील सदस्यलाई १५औँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने र डिजिटल इन्ट्रीलाई नवीकरणको बहानामा महाधिवेशनमा सहभागी हुने अधिकारसँग जोड्न नहुने माग पनि प्रस्तावमा समेटिएको छ।

इतर समूहले पार्टीभित्र संवाद, सहमति र आपसी विश्वासका आधारमा महाधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका