Friday, June 26, 2026
Homeखेलकुदइक्वेडरको शानदार पुनरागमन, जर्मनीलाई २–१ ले हराउँदै नकआउट चरणमा प्रवेश

इक्वेडरको शानदार पुनरागमन, जर्मनीलाई २–१ ले हराउँदै नकआउट चरणमा प्रवेश

काठमाडौं । गोन्जालो प्लाटाले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतमा इक्वेडरले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ई’ को खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

शुक्रबार न्यूयोर्क/न्यु जर्सी स्टेडियममा भएको खेलमा जर्मनीले दोस्रो मिनेटमै अग्रता लिएको थियो। फ्लोरियन भिट्र्सको पासमा लिरोय सानेले बक्सभित्रबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। सन् १९३४ यता विश्वकपमा जर्मनीले गरेको यो सबैभन्दा छिटो गोल हो।

तर इक्वेडरले सात मिनेटमै खेल बराबरीमा ल्यायो। नवौँ मिनेटमा पाब्लो भिटेको पासमा निल्सन आङ्गुलोले बक्सबाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरे। अलेक्जान्डर पाभ्लोभिचको खुट्टाबीचबाट गएको बल गोलरक्षक म्यानुअल नोयरलाई बिट गर्दै जाली चुमेको थियो। यो विश्वकप २०२६ मा इक्वेडरको पहिलो गोल पनि बन्यो।

दोस्रो हाफको सुरुआतमै जर्मनीले पेनाल्टी पाएको थियो। तर भिडियो सहायक रेफ्री (भिएआर) को समीक्षापछि लिरोय सानेले त्यसअघि नै फाउल गरेको पुष्टि भएपछि रेफ्रीले पेनाल्टीको निर्णय उल्ट्याइन्।

खेलको ७७औँ मिनेटमा कर्नरबाट आएको बललाई केभिन रोड्रिगेजले हेडमार्फत अगाडि बढाएपछि गोन्जालो प्लाटाले म्यानुअल नोयरभन्दा अघि पुगेर नजिकैबाट गोल गर्दै इक्वेडरलाई २–१ को जित दिलाए।

यस जितसँगै इक्वेडर ४ अंक जोड्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एकका रूपमा नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गरेको छ।

पराजित भए पनि जर्मनी ६ अंकसहित समूह ‘ई’ को विजेता बनेको छ। समान ६ अंक रहेको आइभरी कोस्टलाई गोलअन्तरमा पछि पार्दै जर्मनी शीर्ष स्थानमा रह्यो। समूहको अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले पराजित गरेको थियो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका