Thursday, June 25, 2026
Homeअन्तराष्ट्रिययुरोपमा भीषण गर्मीको कहर : फ्रान्समा ५८ जनाको मृत्यु, २६ देश उच्च...

युरोपमा भीषण गर्मीको कहर : फ्रान्समा ५८ जनाको मृत्यु, २६ देश उच्च सतर्कतामा

पेरिस । युरोपका विभिन्न देशहरू भीषण गर्मीको लहरबाट प्रभावित बनेका छन्। तापक्रमले नयाँ रेकर्ड बनाउन थालेपछि फ्रान्स, इटाली, स्पेन, बेलायत र जर्मनीलगायतका देशहरूले उच्च सतर्कता तथा आपत्कालीन चेतावनी जारी गरेका छन्।

फ्रान्समा गर्मीसँग सम्बन्धित घटनाका कारण हालसम्म ५८ जनाको मृत्यु भएको छ। रोयटर्सका अनुसार अत्यधिक गर्मीबाट राहत खोज्दै नदी, ताल तथा नहरमा पुगेका ४० जनाको डुबेर मृत्यु भएको छ। मृतकमध्ये अधिकांश युवा रहेका छन्। त्यसैगरी दुई बालबालिकासहित १८ जनाको प्रत्यक्ष रूपमा गर्मीका कारण ज्यान गएको पुष्टि भएको छ।

अत्यधिक तापक्रमका कारण फ्रान्सको गल्फेस आणविक ऊर्जा केन्द्रसमेत अस्थायी रूपमा बन्द गरिएको छ। प्लान्टलाई चिसो पार्न प्रयोग हुने गारोन नदीको तापक्रम २८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

फ्रान्ससहित २६ युरोपेली देशहरू हाल गर्मीको लहरबाट प्रभावित छन्। स्पेन, इटाली र बेलायतलगायत १४ देशमा ‘रेड अलर्ट’ जारी गरिएको छ। धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको वा पुग्ने अनुमान गरिएको छ।

फ्रान्स सरकारले रेड अलर्ट जारी भएका क्षेत्रमा सार्वजनिक स्थानमा मदिरा सेवन गर्न प्रतिबन्ध लगाएको छ। स्वास्थ्य सेवामाथिको दबाब कम गर्न र आपत्कालीन सेवाहरूलाई प्रभावकारी बनाउन यो निर्णय गरिएको हो। प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले उच्चस्तरीय संकटकालीन बैठकपछि उक्त निर्णय सार्वजनिक गरेका हुन्।

फ्रान्सका आधाभन्दा बढी प्रशासनिक क्षेत्रहरू रेड अलर्टमा राखिएका छन्, जहाँ तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ। बढ्दो गर्मीका कारण सयौँ विद्यालय बन्द गरिएका छन् भने केही रेल सेवाहरू पनि प्रभावित भएका छन्।

स्पेनमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ। सरकारले यस वर्षको पहिलो आधिकारिक ‘हीटवेभ’ घोषणा गर्दै केही खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित गरेको छ। राजधानी म्याड्रिडमा विश्वकप फुटबलको सार्वजनिक प्रदर्शनसमेत रद्द गरिएको छ।

इटालीका रोम, मिलान, टुरिन र फ्लोरेन्ससहित आठ सहरमा रातो चेतावनी जारी गरिएको छ। कतिपय क्षेत्रमा दिउँसोको समयमा बाहिर काम गर्नसमेत रोक लगाइएको छ।

बेलायतको मौसम कार्यालयले दक्षिणी इङ्गल्याण्ड र वेल्सका अधिकांश क्षेत्रमा ‘एक्सट्रिम हीट’ चेतावनी जारी गरेको छ। रातिको समयमा पनि तापक्रम २० डिग्री सेल्सियसभन्दा तल नझर्ने अवस्था देखिएको छ।

जर्मनीमा अत्यधिक गर्मीसँगै आँधीबेहरीको जोखिम बढेको छ। खराब मौसमका कारण बर्लिन ओपन टेनिस प्रतियोगिताको फाइनल खेलसमेत प्रभावित भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोप कार्यालयका अनुसार पछिल्ला चार वर्षमा युरोपमा गर्मीका कारण २ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता गर्मीका लहरहरू अझ तीव्र, लामो र बारम्बार दोहोरिने चेतावनी दिएका छन्।

अधिकारीहरूले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरूलाई घरभित्रै रहन, प्रशस्त पानी पिउन र अत्यधिक घामबाट बच्न आग्रह गरेका छन्। साथै डढेलोको जोखिम बढेकाले फ्रान्सले आफ्नो सैन्य तथा आपत्कालीन संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका