काठमाडौं । इजरायली टेलिभिजन च्यानल १३ को एक प्रतिवेदनअनुसार इजरायलको आन्तरिक सुरक्षा एजेन्सी ‘शिन बेट’का पूर्व प्रमुख रोनेन बार र उनकी पत्नीलाई संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणका क्रममा प्राप्त सुरक्षा चेतावनीपछि तत्काल सुरक्षित रूपमा त्यहाँबाट बाहिर निकालिएको छ।
प्रतिवेदनका अनुसार रोनेन बार एक अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा सहभागी हुन यूएई पुगेका बेला उनीमाथि इरानको तर्फबाट सम्भावित आक्रमण वा गम्भीर क्षति पुर्याउने योजना रहेको गुप्तचर सूचना प्राप्त भएको थियो। त्यसलगत्तै सुरक्षा निकायहरूले उनी र उनकी पत्नीलाई सुरक्षित स्थानमा सार्दै यूएईबाट बाहिर निकालेका हुन्।
यस घटनाबारे हालसम्म यूएई र इरान दुवैले कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।
रोनेन बार इजरायलको सुरक्षा क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। उनको कार्यकालमा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि भएको ठूलो आक्रमणपछि उनले सुरक्षा संयन्त्रको कमजोरी स्वीकार गर्दै नागरिकको सुरक्षा गर्न असफल भएको सार्वजनिक रूपमा बताएका थिए।
उक्त घटनापछि बढेको दबाबका कारण उनले सन् २०२५ मा शिन बेटको प्रमुख पदबाट राजीनामा दिएका थिए। पछिल्लो घटनाले इजरायलका पूर्व सुरक्षा अधिकारीहरू अझै पनि क्षेत्रीय सुरक्षा चुनौती र सम्भावित खतराको घेरामा रहेको संकेत गरेको विश्लेषण गरिएको छ।


