काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तय गर्दै तयारी प्रक्रिया अघि बढाएको हो।
महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा पार्टी पदाधिकारी, केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, केन्द्रीय सदस्य, सल्लाहकार, विभागीय प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, सङ्घीय र प्रदेश सांसद तथा विभिन्न भातृ संगठनका अध्यक्षहरू सहभागी रहनेछन्।
पार्टीले महाधिवेशनको तयारीस्वरूप सांगठनिक अधिवेशनको कार्यतालिका पनि सार्वजनिक गरेको छ। भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र समयमै अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्र केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ।
जिल्ला अधिवेशनपछि असोज १५ देखि २४ गतेसम्म सातवटै प्रदेशमा प्रदेश अधिवेशन सञ्चालन गरिनेछ। त्यस्तै, महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया कात्तिक ११ देखि ३० गतेसम्म सम्पन्न गरी मंसिर ७ गतेभित्र केन्द्रमा विवरण पठाइसक्नुपर्नेछ।
राप्रपाले सक्रिय सदस्यता वितरण अभियानलाई भदौ मसान्तसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। सो अवधिभित्र सक्रिय सदस्यता प्राप्त गर्ने व्यक्तिहरूले मात्र महाधिवेशनमा मतदाता तथा उम्मेदवार बन्न पाउनेछन्।
बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, विभिन्न सांगठनिक तहको निर्वाचन नियमावली तथा पार्टी निर्वाचन निर्देशिका पारित गर्दै संगठन सुदृढीकरण र महाधिवेशन तयारीलाई तीव्र बनाउने निर्णय गरेको जनाएको छ।



