एजेन्सी । फिफा विश्वकप २०२६ मा खेल सञ्चालन, निर्णय प्रक्रिया र प्रतियोगिताको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरिएको छ।
विश्वव्यापी प्रविधि कम्पनी Lenovo ले फिफासँगको सहकार्यमा विश्वकपका लागि विभिन्न एआई–आधारित समाधानहरू उपलब्ध गराएको जनाएको छ। अमेरिकाको फ्लोरिडास्थित मियामीमा रहेको प्राविधिक कमाण्ड तथा प्रतियोगिता सञ्चालन केन्द्रबाट उत्तर अमेरिकाभरिका सयौं आधिकारिक स्थलहरूको डेटा समन्वय भइरहेको छ।
प्रतियोगिताका क्रममा सामाजिक सञ्जाल गतिविधि, मौसमको अवस्था तथा खेलसँग सम्बन्धित अन्य महत्वपूर्ण सूचनाहरूलाई एआई प्रणालीमार्फत विश्लेषण गरिँदैछ। यसका लागि फिफाले विशेष ‘इन्टेलिजेन्ट कमाण्ड सेन्टर’ समेत सञ्चालनमा ल्याएको छ।
एआई प्रविधिको सहायताले रेफ्रीको शरीरमा जडान गरिएका क्यामेराबाट प्राप्त दृश्यहरूलाई थप स्पष्ट र स्थिर बनाउने व्यवस्था गरिएको छ। यसले दर्शकहरूलाई रेफ्रीको दृष्टिकोणबाट खेल हेर्ने अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, भिडियो सहायक रेफ्री (VAR) प्रणालीलाई अझ प्रभावकारी बनाउन एआईको प्रयोग गरिएको छ। यसले अफसाइड तथा अन्य विवादास्पद निर्णयहरूमा रेफ्रीलाई छिटो र सटीक जानकारी उपलब्ध गराउन सहयोग गर्नेछ।
फिफा र लेनोभोले खेलाडीहरूको डिजिटल थ्रीडी मोडल तयार गर्न पनि एआई प्रविधि प्रयोग गरेका छन्। यसमार्फत खेलाडीहरूको शारीरिक बनावट, उचाइ तथा चालचलनलाई अझ यथार्थपरक रूपमा विश्लेषण गर्न सकिने बताइएको छ।
विशेषज्ञहरूका अनुसार एआई र डिजिटल प्रविधिको बढ्दो प्रयोगले विश्वकपलाई थप निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन मद्दत पुर्याउनेछ। साथै, यसले खेल व्यवस्थापन र निर्णय प्रक्रियामा मानवीय त्रुटि कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


