काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभनमा महिलाहरूलाई अवैध रूपमा विदेश पठाउने कार्यमा संलग्न रहेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कुवेत, ओमान र यूएई लगायतका देशमा घरेलु कामदारका रूपमा महिलाहरूलाई पठाउने योजना बनाइरहेको गोप्य सूचनाका आधारमा सिनामंगल क्षेत्रमा निगरानी बढाइएको थियो। त्यसक्रममा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले जनाएको अनुसार सोधपुछका क्रममा केही व्यक्तिले प्रहरीमाथि गालीगलौज र हातपातको प्रयास गरेका थिए। सार्वजनिक स्थलमै अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा संखुवासभाका ४६ वर्षीय केदारबहादुर खड्का, सिन्धुपाल्चोकका ४५ वर्षीय ईश्वर न्यौपाने, गुल्मीका ४४ वर्षीय रामबहादुर क्षेत्री, सप्तरीका ४२ वर्षीय प्रकाश साह, मोरङका ५२ वर्षीय कुमार उराउ तथा खोटाङका ४७ वर्षीय पशुपति राई रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये केही ट्राभल तथा टुर्स कम्पनीसँग सम्बद्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
यसैबीच, पक्राउ परेका केदारबहादुर खड्काको घरमा गरिएको खानतलासीका क्रममा स्रोत नखुलेको ३१ लाख ८० हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। उक्त रकमको स्रोतबारे थप अनुसन्धान भइरहेको छ।


