Monday, June 1, 2026
Homeअन्तराष्ट्रियमलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध, नयाँ कानुन लागू

मलेसियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध, नयाँ कानुन लागू

क्वालालम्पुर । मलेसिया सरकारले बालबालिकाको सुरक्षालाई प्राथमिकता दिँदै १६ वर्षभन्दा कम उमेरका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा कडा कानुनी प्रतिबन्ध लागू गरेको छ। सोमबारदेखि कार्यान्वयनमा आएको नयाँ व्यवस्थाअनुसार अब १६ वर्षमुनिका बालबालिकाले सामाजिक सञ्जालमा व्यक्तिगत खाता खोल्न वा सञ्चालन गर्न पाउने छैनन्।

नयाँ नियमअनुसार फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबलगायत प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ। साथै, कम उमेरका प्रयोगकर्ताले नयाँ खाता खोल्न नपाउने र पहिले नै सञ्चालनमा रहेका त्यस्ता खाताहरू पहिचान गरी हटाउने जिम्मेवारी सम्बन्धित कम्पनीहरूलाई दिइएको छ।

सरकारले तोकेको नियम पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई १ करोड मलेसियन रिंगिटसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ।

मलेसिया सरकारले बालबालिकालाई हानिकारक सामग्री, साइबर दुर्व्यवहार, मानसिक तनाव तथा सामाजिक सञ्जालको अत्यधिक लतबाट जोगाउने उद्देश्यले यो नीति लागू गरिएको जनाएको छ। पछिल्ला वर्षहरूमा डिजिटल माध्यमबाट बालबालिकामाथि बढ्दो जोखिम देखिएकाले कडा नियमन आवश्यक भएको सरकारको भनाइ छ।

सरकारले नियम उल्लंघन गरी बालबालिकाले वैकल्पिक उपायबाट खाता खोलेको अवस्थामा अभिभावकलाई कारबाही नगर्ने स्पष्ट पारेको छ। यसको सट्टा सामाजिक सञ्जाल कम्पनीहरूलाई नै बढी जिम्मेवार र उत्तरदायी बनाउने नीति अपनाइएको छ।

मलेसियाको सञ्चार तथा बहुमाध्यम आयोगले यो नीति बालबालिकालाई इन्टरनेटबाट टाढा राख्ने उद्देश्यले नभई उनीहरूका लागि सुरक्षित, स्वस्थ र उमेरअनुकूल डिजिटल वातावरण निर्माण गर्न ल्याइएको जनाएको छ।

बालबालिकाको डिजिटल सुरक्षाका लागि यस्तो कडा नीति लागू गर्ने देशहरूको सूचीमा मलेसिया पनि थपिएको छ। यसअघि अष्ट्रेलिया, ब्राजिल र इन्डोनेसियाले यस्तै व्यवस्था लागू गरिसकेका छन् भने बेलायत, फ्रान्स, स्पेन, डेनमार्क, थाइल्यान्ड र दक्षिण कोरियालगायतका देशहरू पनि यस्तै कानुनी व्यवस्था ल्याउने तयारीमा रहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका