मस्को। इरान र अमेरिकाबीच बढ्दो तनावबीच कूटनीतिक प्रयास अनिश्चित बन्दै जाँदा इरानका विदेशमन्त्री अब्बास अराघची सोमबार रुस पुगेका छन्। क्षेत्रीय वार्ता कमजोर बन्दै गएको र मध्यस्थताका प्रयास दबाबमा परिरहेका बेला उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
इरानी विदेश मन्त्रालयका अनुसार अराघची सेन्ट पिटर्सबर्ग पुगेका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने कार्यक्रम छ। तेहरान र वासिङ्टनबीच प्रत्यक्ष संवाद ठप्पजस्तै बनेको अवस्थामा मस्कोमार्फत सम्भावित सहमतिको बाटो खोज्ने प्रयास तीव्र भएको संकेत देखिएको छ।
यसअघि अराघचीले ओमान र पाकिस्तान भ्रमण गरी मध्यस्थकर्ताहरूसँग परामर्श गरेका थिए। तर इस्लामाबादमा हुने भनिएको दोस्रो चरणको वार्ता अन्तिम समयमा स्थगित भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूतहरू स्टिभ विटकफ र जारेड कुसनरको पाकिस्तान भ्रमण रद्द गरेपछि वार्तामा अवरोध आएको हो।
यद्यपि संवाद पूर्ण रूपमा बन्द नभएको संकेत देखिएको छ। इरानले पाकिस्तानमार्फत अमेरिकी पक्षलाई लिखित सन्देश पठाउँदै आणविक मुद्दा र हर्मुज जलघाँटी सम्बन्धी आफ्ना ‘लक्ष्मण रेखा’ स्पष्ट पारेको बताइएको छ।
अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार इरानले युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्ताव अघि सारेको छ, यद्यपि त्यसलाई आणविक वार्तापछिको चरणसँग जोडिएको छ। इरानी सरकारी समाचार एजेन्सीले उक्त रिपोर्ट अस्वीकार नगरी उल्लेख गरेको छ।
इरान–अमेरिका–इजरायल तनावको प्रभाव विश्वभर फैलिएको छ। इरानले हर्मुज जलघाँटी बन्द गरेपछि तेल, ग्यास र मलको आपूर्ति प्रभावित भएको छ, जसले विशेषतः विकासशील देशहरूमा खाद्य असुरक्षा बढाउने चिन्ता पैदा गरेको छ। यसैबीच अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ।
इस्लामाबाद वार्ता स्थगित भएपछि डोनाल्ड ट्रम्पले वार्ता बन्द नभएको बताउँदै इरान वार्ताका लागि इच्छुक भए प्रत्यक्ष सम्पर्क गर्न सक्ने बताएका छन्। बढ्दो इन्धन मूल्यका कारण अमेरिकामा उनको आन्तरिक दबाब पनि बढ्दै गएको छ।
यसैबीच मध्यपूर्वको अर्को मोर्चामा इजरायल र हिजबुल्लाहबीच तनाव जारी छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरान समर्थित समूहविरुद्ध कारबाही जारी रहेको बताएका छन्।
लेबनानको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा १४ जनाको मृत्यु र ३७ जना घाइते भएको जनाइएको छ। इजरायलले आफ्नो एक सैनिक मारिएको पुष्टि गर्दै सम्भावित खतराविरुद्ध अग्रिम कारबाही गर्ने नीति दोहोर्याएको छ।


