वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सैन्य कारबाही गर्ने अधिकारमा अंकुश लगाउने उद्देश्यले ल्याइएको संकल्प प्रस्ताव अमेरिकी सिनेटमा चौथो पटक पनि असफल भएको छ।
प्रस्ताव पारित भएको भए संसदको पूर्वस्वीकृति बिना इरानसँगको द्वन्द्वमा अमेरिकी सैन्य कारबाही अघि बढाउन रोक लाग्ने थियो। रिपब्लिकन बहुमत रहेको सिनेटमा भएको मतदानमा प्रस्तावको विपक्षमा ५२ र पक्षमा ४७ मत परेको छ, जुन मुख्यतया दलीय आधारमा विभाजित देखिएको छ।
विपक्षी डेमोक्र्याटहरूले प्रस्ताव असफल भए पनि हरेक हप्ता यस्तै प्रस्ताव ल्याइरहने चेतावनी दिएका छन्। उनीहरूका अनुसार प्रस्ताव पारित नभए पनि यसले युद्धबारे सांसदहरूको धारणा जनतासमक्ष स्पष्ट पार्नेछ।
धेरैजसो रिपब्लिकन सांसदहरूले प्रस्तावको विपक्षमा मतदान गरे पनि केहीले युद्ध लामो समयसम्म लम्बिएमा आफ्नो धारणा परिवर्तन हुन सक्ने संकेत गरेका छन्। पश्चिम एसियामा तनाव बढिरहँदा राष्ट्रपति ट्रम्पले युद्धको अवस्थाबारे फरक–फरक अभिव्यक्ति दिँदै आएका छन्। हालै उनले युद्ध ‘लगभग अन्त्यको नजिक’ पुगेको दाबी गरेका थिए।
अमेरिकी संघीय कानुनअनुसार ६० दिनभन्दा बढी सैन्य कारबाही जारी राख्न संसदको अनिवार्य अनुमति आवश्यक हुन्छ। हालका लागि ट्रम्पले इरानी बन्दरगाहहरूमा लगाएको सैन्य नाकाबन्दीलाई अधिकांश रिपब्लिकन सांसदहरूले समर्थन गरिरहेका छन्।
डेमोक्र्याटिक पार्टीका सिनेटर जोन फेटरम्यानले भने आफ्नै दलको धारविपरीत मतदान गर्दै प्रस्तावको विपक्षमा मत दिएका छन्। अर्कोतर्फ, रिपब्लिकन सिनेटर जोस हलीले द्वन्द्वलाई छिटो अन्त्य गर्नु नै अमेरिकाको हितमा हुने बताएका छन् र वार्ता सफल हुनेमा आशावादी रहेको बताएका छन्।
रिपब्लिकन सिनेटर र्यान्ड पल भने सुरुदेखि नै युद्ध रोक्नुपर्ने पक्षमा उभिँदै आएका छन्। उनले ६० दिनको समयसीमा सकिएपछि थप रिपब्लिकन सांसदहरू पनि आफ्नो पक्षमा आउन सक्ने विश्वास व्यक्त गरेका छन्। यद्यपि ह्वाइट हाउसले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो समयसीमालाई थप ३० दिन लम्ब्याउन सक्ने प्रावधान रहेको छ।
सिनेटर टिम केनले प्रस्ताव पारित नभए पनि युद्धको जिम्मेवारी कसले लिन्छ भन्ने कुरा अमेरिकी जनतासामु स्पष्ट पार्ने बताएका छन्। सन् १९७३ मा बनेको ‘वार पावर्स रिजोलुसन’ कानुन तत्कालीन राष्ट्रपति रिचर्ड निक्सनलाई भियतनाम युद्ध विस्तार गर्नबाट रोक्न ल्याइएको थियो, जसलाई अहिले ट्रम्पको कदम नियन्त्रण गर्न प्रयोग गर्ने प्रयास भइरहेको छ।


