काठमाडौं : ए डिभिजन क्लब संकटाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ। एकेडेमी सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा), संकटा र नेक्सस स्कुलबीच त्रिपक्षीय सम्झौता भएको छ।
एन्फा मुख्यालय सातदोबाटोमा मंगलबार भएको एक कार्यक्रममा एन्फा उपाध्यक्ष तथा युथ डेभलभमेन्ट कमिटीका संयोजक उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार पहिलो वर्ष सात जना संकटा र सात जना नेक्सस स्कुलका गरी कुल १४ खेलाडीले संकटा–नेक्सस युथ फुटबल एकेडेमीमा अभ्यास गर्नेछन्। अभ्यासको सम्पूर्ण व्यवस्था संकटा क्लबले गर्नेछ। ती खेलाडीलाई नेक्सस स्कुलले छात्रवृत्ति प्रदान गर्नेछ। सम्झौताको दोस्रो वर्षमा एकेडेमीमा संकटा क्लबका तर्फबाट १४ युवा खेलाडी सहभागी हुनेछन्।
एसियाली फुटबल महासंघ (एएफसी) ले क्लब लाइसेनिङका लागि युथ एकेडेमी अनिवार्य गरेको छ। हालसम्म त्रिभुवन आर्मी क्लबले मात्र एएफसीको क्लब लाइसेन्स पाएको छ। आर्मी, नेपाल पुलिस र एपीएफले युथ एकेडेमी सञ्चालन गर्दै आइरहेका छन्। विभागीय क्लबबाहेक युथ एकेडमी सञ्चालन गर्ने संकटा पहिलो ‘ए’ डिभिजन टोली हो।


