काठमाडौं । मार्को रुबियो ले इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न नदिने बताएका छन्। उनले इरान अमेरिका, युरोप, मध्यपूर्व र विश्व शान्तिका लागि खतरा भएको दाबी गरेका छन्।
ब्लूमबर्ग सँग जर्मनीमा भएको अन्तर्वार्तामा उनले यस्तो टिप्पणी गरेका हुन्। उक्त अन्तर्वार्ता उनले म्युनिख सुरक्षा सम्मेलनमा सहभागी भइरहेका क्रममा दिएका थिए।
अमेरिकी विदेशमन्त्री रुबियोले मध्यपूर्व क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति कायम राख्न चाहेको बताएका छन्। उनका अनुसार इरान ले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्न इच्छुकता र क्षमता देखाएको छ।
उनले मध्यपूर्वमा अमेरिकाका सहयोगी राष्ट्रहरू रहेको र त्यहाँ अमेरिकी सैन्य अड्डाहरू पनि रहेको उल्लेख गरे। इरानको सम्भावित गतिविधिका कारण ठूलो द्वन्द्व नहोस् भनेर अमेरिकाले सैन्य उपस्थिति कायम राख्न चाहेको उनले बताए।
रुबियोले डोनाल्ड ट्रम्प ले इरानसँग सम्झौता गर्ने प्रयासलाई प्राथमिकता दिएको स्पष्ट पारेका छन्। उनले यस्तो सम्झौता गर्न चुनौतीपूर्ण भए पनि अमेरिकाले कूटनीतिक प्रयास जारी राख्ने बताएका छन्।


