रुकुम पूर्व । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा निर्वाचनमा देशमा आगजनी, भ्रष्टाचार, कुशासन तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन्।
रुकुम पूर्वको चुनबाङ मा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै बङ्गलादेश मा सम्पन्न निर्वाचन परिणामबारे टिप्पणी गरेका थिए।
उनले विगतमा राज्यका महत्वपूर्ण संरचनाहरूमा आगजनी र हिंसात्मक गतिविधि भएको उल्लेख गर्दै अब त्यस्ता गतिविधि गर्ने शक्ति पराजित हुने र गणतन्त्र तथा परिवर्तनको पक्षमा उभिने शक्तिले विजय हासिल गर्ने दाबी गरे। बङ्गलादेशको उदाहरण उल्लेख गर्दै उनले आगजनी र अस्थिरता फैलाउने पक्षलाई जनताले अस्वीकार गरेको बताए।
प्रचण्डले सामाजिक सञ्जालमा लोकप्रियता देखाएर मात्रै राजनीतिक सफलता प्राप्त नहुने उल्लेख गर्दै जनताले वास्तविक मूल्यांकन गरेर निर्णय गर्ने बताए। साथै आगजनी, कुशासन, दमन र हिंसात्मक गतिविधि गर्ने शक्तिलाई रोल्पा–रुकुम का जनताले राम्रोसँग बुझेको र देशभरका नागरिकले पनि त्यसबारे सचेत हुने विश्वास व्यक्त गरे।
उनले रुकुम पूर्वलाई विकासको नयाँ मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दै भरतपुर मा लागू गरिएको विकास मोडेलको अनुभवलाई आधार बनाएर समाजवाद उन्मुख विकासको नयाँ नमुना निर्माण गर्ने बताए।


