काठमाडौं । बंगलादेशमा बिहीबार सम्पन्न आम निर्वाचनमा बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) ले भारी विजय हासिल गरेको छ। २९९ सिटमध्ये बीएनपीले २०९ सिट जित्दै दुई तिहाइ बहुमत प्राप्त गरेको छ। हालसम्म २८६ सिटको नतिजा सार्वजनिक भइसकेको छ।
जमात-ए-इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले ७० सिट जितेको छ। गठबन्धनका प्रमुख शफिकुर रहमानले ढाका–१५ निर्वाचन क्षेत्रबाट विजय हासिल गरेका छन्। करिब दुई दशकपछि बीएनपीले सरकार गठन गर्ने भएको हो। अवामी लिग नेतृत्वमा रहेको सरकार २००८ देखि २०२४ सम्म सत्तामा थियो।
निर्वाचन परिणामसँगै पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको छ। उनले दुई निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर दुवैमा विजय हासिल गरेका छन्। १७ वर्ष निर्वासनमा रहेका उनी गत डिसेम्बरमा स्वदेश फर्किएका थिए।
बंगलादेशमा ३५ वर्षपछि निर्वाचित पुरुष प्रधानमन्त्री बन्ने अवस्था देखिएको छ। यसअघि काजी जफर अहमद सन् १९८८ मा प्रधानमन्त्री बनेका थिए। त्यसपछि सन् १९९१ देखि २०२४ सम्म खालिदा जिया र शेख हसिनाले पालैपालो देशको नेतृत्व गरेका थिए।
हाल देशको अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गरिरहेका छन्। उनी निर्वाचित प्रधानमन्त्री नभई अन्तरिम सरकारका प्रमुख सल्लाहकारको रूपमा कार्यरत छन्।
निर्वाचनसँगै जनमत संग्रह पनि सम्पन्न गरिएको छ। संसद निर्वाचनसँगै मतदाताले संवैधानिक संशोधनसम्बन्धी प्रस्तावमा मतदान गरेका छन्। प्रारम्भिक नतिजाअनुसार संविधान संशोधनको पक्षमा मत अग्रता लिइरहेको छ।
संशोधन प्रस्ताव पारित भए प्रधानमन्त्रीको केही कार्यकारी अधिकार घट्ने र राष्ट्रपतिको अधिकार विस्तार हुने व्यवस्था लागू हुने जनाइएको छ। साथै दुई सदनात्मक संसद गठन गर्ने, संवैधानिक पदहरूमा नियुक्ति प्रक्रिया बहुपक्षीय समिति मार्फत गर्ने तथा कुनै व्यक्तिले अधिकतम १० वर्ष मात्र पदमा बस्न पाउने प्रस्तावसमेत गरिएको छ।
संशोधन लागू भए राष्ट्रपतिले मानव अधिकार आयोग, सूचना आयोग, प्रेस काउन्सिल, कानून आयोग तथा बंगलादेश बैंक लगायत संवैधानिक निकायमा नियुक्ति गर्ने अधिकार पाउने व्यवस्था प्रस्ताव गरिएको छ।


