काठमाडौं । क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन वर्षअघि भएको इतिहासकै ठूलो सुन चोरी प्रकरणका मुख्य योजनाकार अर्सलान चौधरी पक्राउ परेका छन्। पाकिस्तानी मूलका चौधरीलाई दुबईबाट आएको विमान अवतरण भएपछि खैरो हुडी लगाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।
चौधरीको गिरफ्तारीसँगै सन् २०२३ अप्रिलमा भएको ४०० किलो सुन चोरी प्रकरणको अनुसन्धानमा क्यानडाली प्रहरीले महत्वपूर्ण सफलता हात पारेको छ। चोरी गरिएको सुनको मूल्य त्यतिबेला करिब २० मिलियन क्यानेडियन डलर आकलन गरिएको थियो, जुन हालको नेपाली बजार मूल्यअनुसार करिब १० अर्ब रुपैयाँ बराबर हुन्छ।
चोरी कसरी भयो ?
सन् १८ अप्रिल २०२३ मा दिउँसो करिब २ बजे टोरन्टोको पियर्सन विमानस्थलस्थित गोदामबाट एउटा कन्टेनर हराएको सूचना प्रहरीले पाएको थियो। उक्त कन्टेनरमा २४ क्यारेट सुनका करिब ६ हजार बिस्कुट तथा २.७ मिलियन क्यानेडियन डलर बराबरको नगद रहेको थियो।
यो सुन र नगद स्विट्जरल्यान्डको ज्युरिखबाट ल्याइएको थियो। सुन टोरन्टोस्थित बैंकका लागि र नगद भ्यानकुभरको मनी एक्सचेन्ज केन्द्रका लागि ल्याइएको थियो।
अनुसन्धान अनुसार चोरहरूले नक्कली समुद्री खाद्य पदार्थको बिल प्रयोग गरी गोदाममा प्रवेश गरेका थिए। उनीहरूले सुन र नगद रहेको कन्टेनर ट्रकमा राखेर साँझ ६:०३ बजे विमानस्थलबाट बाहिर लगेका थिए।
आन्तरिक संलग्नताको आशंका
प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय मूलका विमानस्थल अधिकारी सिमरन प्रीत प्रहरीको सहयोगीको रूपमा नियुक्त गरिएका थिए। तर अनुसन्धानकै बीचमा उनले राजीनामा दिएर भारतको चण्डीगढ पुगेको तथ्य खुलेको थियो। प्रहरीले उनलाई दोस्रो प्रमुख अभियुक्तको रूपमा हेरेको छ।
पील क्षेत्रीय प्रहरीले घटनामा संलग्न नौ जनालाई अभियुक्त बनाएको छ, जसमा पाँच जना भारतीय मूलका छन्। सिमरन प्रीतले कन्टेनरको अनलाइन ट्र्याकिङ गर्नुका साथै ट्रक चालकलाई विमानस्थल प्रवेश गराएको आरोप छ।
चोरीपछि सुनको व्यवस्थापन
चोरी गरिएको सुन मिसिसागा नजिकैको सुरक्षित घरमा राखिएको थियो। त्यहाँबाट सुन क्रमशः पगालेर क्यानडामै बिक्री गरिएको तथा केही सुन र नगद दुबई र भारतमा हवाला नेटवर्कमार्फत पठाइएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीले अनुसन्धानका क्रममा १ लाख ५० हजार क्यानेडियन डलर, १२ वटा मोबाइल फोन, १० हजार दिराम तथा नगद वितरणसम्बन्धी कागजात बरामद गरेको जनाएको छ।
अन्य अभियुक्त र अनुसन्धान अवस्था
घटनामा संलग्न नौ जनामध्ये आठ जना पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा अर्सलान चौधरी र अली रजा पनि रहेका छन्। अली रजामाथि चोरी गरिएको सुन प्रयोग गरी करिब ५५ लाख रुपैयाँ बराबरका सुनका गरगहना बनाएको आरोप छ।
भारतीय मूलका अर्चित ग्रोभर, प्रसाद परामलिङ्गम, परम्पल सिद्धु र अमित जलोटा पनि अभियुक्तको सूचीमा रहेका छन्। मुख्य सहयोगी मानिएका सिमरन प्रीत भने अझै फरार रहेको र हाल भारतमा संगीत निर्माता बनेर बसिरहेको बताइएको छ।
क्यानडाली प्रहरीले “प्रोजेक्ट २४ के” नामक अपरेशन सञ्चालन गर्दै तीन वर्षसम्म अनुसन्धान गरेको थियो। करिब ५० करोड रुपैयाँ खर्च गरेर मास्टरमाइन्ड चौधरीलाई पक्राउ गर्न सफल भए पनि चोरी गरिएको अधिकांश सुन अझै बरामद हुन सकेको छैन।
यससँगै क्यानडाको इतिहासकै ठूलो सुन चोरी प्रकरणमा मुख्य अभियुक्त पक्राउ परे पनि चोरी भएको सुनको ठूलो हिस्सा अझै रहस्यमै रहेको बताइएको छ।


