Thursday, June 4, 2026
Homeमुख्य समाचारआज देशभर सहिद दिवस मनाइँदै, बलिदानी सहिदप्रति श्रद्धाञ्जली

आज देशभर सहिद दिवस मनाइँदै, बलिदानी सहिदप्रति श्रद्धाञ्जली

काठमाडौँ, १६ माघ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि जीवन आहुति दिने चार महान् सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री—सहित अन्य सबै सहिदहरूको सम्मान र सम्झनामा यो दिवस मनाइने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा तत्कालीन सरकारले यी सहिदहरूलाई मृत्युदण्ड दिएको थियो। सहिदहरूको त्याग, साहस र बलिदानबाट प्राप्त प्रेरणाकै परिणामस्वरूप जहानियाँ राणा शासनको अन्त्य भएको र नेपालमा प्रजातन्त्रको स्थापना भएको इतिहास छ।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रता र लोकतन्त्रका लागि जीवन बलिदान गर्ने सहिदहरूको स्मरणमा विविध कार्यक्रमसहित मनाइँदै आएको छ।

यसै अवसरमा माघ १० गतेदेखि १६ गतेसम्म ‘सहिद सप्ताह’ घोषणा गरी देशभर विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। विसं २०१२ सालदेखि तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस औपचारिक रूपमा मनाउन थालिएको हो।

इतिहासअनुसार स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका