Monday, July 20, 2026
Homeअन्तराष्ट्रियमिनेसोटा चर्च घटनाप्रति ट्रम्पको कडा प्रतिक्रिया, न्याय मन्त्रालयद्वारा छानबिन सुरु

मिनेसोटा चर्च घटनाप्रति ट्रम्पको कडा प्रतिक्रिया, न्याय मन्त्रालयद्वारा छानबिन सुरु

काठमाडौं । अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन तथा भन्सार प्रवर्तन (आइसीई) विरुद्ध प्रदर्शनकारीहरूले एक चर्चभित्र आराधना भइरहेको बेला अवरोध पुर्‍याएको घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा आपत्ति जनाएका छन् । उनले धार्मिक आराधनामा हस्तक्षेप सह्य नहुने स्पष्ट पारेका छन् ।

आइतबार सेन्ट पलस्थित सिटिज चर्चमा आराधना सञ्चालन भइरहेका बेला प्रदर्शनकारीहरू चर्चभित्र प्रवेश गरी नाराबाजी गरेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा उनीहरूले ‘जस्टिस फर रेनी गुड’ र ‘आइस आउट’ जस्ता नारा लगाउँदै श्रद्धालुहरूसँग सामना गरेको देखिन्छ ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै पवित्र उपासना स्थलमा इसाई श्रद्धालुहरूलाई धम्क्याउने र हैरानी दिने कार्य कदापि सह्य नहुने बताइन् । उनले न्याय मन्त्रालयले घटनाबारे पूर्ण छानबिन सुरु गरिसकेको जानकारी दिइन् ।

चर्चका एक पादरी आप्रवासन तथा भन्सार प्रवर्तन निकायमा वरिष्ठ भूमिकामा रहेको दाबी सामाजिक सञ्जालमा फैलिनुका कारण प्रदर्शनकारीहरूले चर्चलाई लक्षित गरेको बताइएको छ । उक्त प्रदर्शन मिनियापोलिस–सेन्ट पल क्षेत्रमा हालै देखिएका व्यापक विरोध प्रदर्शनहरूको हिस्सा रहेको जनाइएको छ ।

यस क्षेत्रकी ३७ वर्षीया रेनी निकोल गुडको यसै महिना एक एजेन्टद्वारा गोली हानी हत्या भएको घटनापछि संघीय निकाय र स्थानीय समुदायबीच तनाव चर्किँदै गएको छ । सोही सन्दर्भमा चर्च घटनाप्रति प्रतिक्रिया दिँदै अमेरिकी न्याय मन्त्रालयले नागरिक अधिकारसम्बन्धी छानबिन सुरु गरेको जनाएको छ ।

न्याय मन्त्रालयको नागरिक अधिकार विभागकी सहायक महान्यायाधिवक्ता हार्मिट ढिल्लनले पूजास्थल अपवित्र बनाइएको र इसाई श्रद्धालुहरूको पूजा–आराधनामा हस्तक्षेप गरिएको विषयमा संघीय कानुन उल्लङ्घन भएको छ कि छैन भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिइन् । उक्त छानबिन ‘फ्रिडम अफ एक्सेस टु क्लिनिक इन्ट्रान्सेस एक्ट’ अन्तर्गत भइरहेको छ, जसले पूजास्थलको सुरक्षासमेत सुनिश्चित गर्छ ।

यसैबीच, ट्रम्प प्रशासनअन्तर्गतको गृह सुरक्षा विभागले पनि घटनाको कडा आलोचना गरेको छ । विभागले आन्दोलनकारीहरूले अब संघीय सुरक्षाकर्मी मात्र नभई चर्चहरूलाई समेत लक्षित गर्न थालेको आरोप लगाउँदै राज्य तथा स्थानीय अधिकारीहरू अशान्ति रोक्न असफल भएको दाबी गरेको छ ।


सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका