Monday, July 20, 2026
Homeअन्तराष्ट्रियतेलंगनामा सामूहिक रूपमा सडक कुकुर विषाक्त गराई हत्या: एक अभियुक्त पहिचान, अनुसन्धान...

तेलंगनामा सामूहिक रूपमा सडक कुकुर विषाक्त गराई हत्या: एक अभियुक्त पहिचान, अनुसन्धान तीव्र

काठमाडौं । भारतको तेलंगना राज्यअन्तर्गत कामारेड्डी जिल्लाका तीन गाउँमा पछिल्ला दुई दिनभित्र कम्तीमा २५० सडक कुकुरलाई विष दिई मारिएको घटनामा संलग्न एक व्यक्तिको पहिचान भएको छ। कामारेड्डी प्रहरीका अनुसार अभियुक्त किशोर पाण्डे बुधबार आन्ध्र प्रदेशमा फेला परेका छन्।

प्रहरीका एक वरिष्ठ अधिकारीले अभियुक्तलाई निगरानीमा राखी नियन्त्रणमा लिन एक निरीक्षक र एक सह–निरीक्षकको टोली गठन गरिएको जानकारी दिएका छन्। उनले भने, “अभियुक्तलाई प्रहरीसमक्ष उपस्थित हुन नोटिस दिइनेछ। सोधपुछपछि घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि पहिचान गरिनेछ।” प्रहरीले स्थानीय बासिन्दाहरूले अभियुक्तलाई लुकाइराखेको र अनुसन्धानमा सहयोग नगरेको आरोपसमेत लगाएको छ।

जनवरी १२ मा पशु अधिकार कार्यकर्ता अदुलापुरम गौतमले दिएको उजुरीका आधारमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। उजुरीमा विभिन्न गाउँमा योजनाबद्ध रूपमा सडक कुकुरलाई विष दिइएको आरोप लगाइएको छ। प्रारम्भिक विवरणअनुसार तीन जना सरपञ्चहरूले अभियुक्तलाई भाडामा लिएर कुकुर हत्या गराएको आशंका गरिएको छ।

प्रारम्भिक अनुसन्धानले यी घटनाहरू हालै सम्पन्न ग्राम पंचायत निर्वाचनका क्रममा सडक कुकुर र बाँदरको समस्या समाधान गर्ने चुनावी वाचासँग सम्बन्धित रहेको संकेत गरेको छ। प्रहरीका अनुसार अभियुक्त गाउँ–गाउँ पुगेर कुकुरलाई विषालु इन्जेक्सन लगाउने गर्थे, जसका कारण कुकुरको तुरुन्तै मृत्यु हुन्थ्यो।

पशु चिकित्सकको टोलीले कुकुरका शव उत्खनन गरी पोष्टमार्टम गरेको छ। भिसेरा नमूना फरेन्सिक विज्ञान प्रयोगशालामा पठाइएको छ, जसबाट मृत्युको वास्तविक कारण र प्रयोग गरिएको विषको पहिचान हुने अपेक्षा गरिएको छ।

यो घटना यसै महिनाको सुरुमा तेलंगनाकै हनमकोंडा जिल्लामा भएको समान घटनापछि सार्वजनिक भएको हो। हनमकोंडाको शायमपेट र अरेपल्ली गाउँमा करिब ३०० सडक कुकुर मारिएको आरोप लागेको थियो। उक्त घटनामा प्रहरीले दुई महिला सरपञ्च, उनीहरूका पति, ग्राम पंचायत सचिव तथा भाडामा लिइएका दुई व्यक्तिसहित नौ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो।

शायमपेट प्रहरी निरीक्षक रञ्जित रावका अनुसार अभियुक्तहरूलाई भारतीय नागरिक सुरक्षा संहिता, २०२३ को धारा ३५ अन्तर्गत नोटिस जारी गरिएको छ। अपराधको सजाय सात वर्षसम्म कैद हुन सक्ने भए पनि हाल तत्काल पक्राउ नगरिएको उनले बताए। उनका अनुसार उजुरीमा ३०० कुकुर मारिएको दाबी भए पनि हालसम्मको अनुसन्धानले करिब ११० कुकुरको मृत्यु पुष्टि गरेको छ। पाँच कुकुरको पोष्टमार्टम भइसकेको छ र नमूना फरेन्सिक प्रयोगशालामा पठाइएको छ।

प्रहरीका अनुसार हनमकोंडा घटनामा पनि विषालु औषधि भरिएको इन्जेक्सन लामो काठको डण्डामा जडान गरी टाढाबाट कुकुरलाई लगाइएको थियो। इन्जेक्सन लगाइएपछि एक मिनेटभित्रै कुकुरको मृत्यु हुने गरेको पाइएको छ।

कामारेड्डी प्रहरीका अनुसार भवानिपेट, पलवनचा र फारिदपेट गाउँमा सामूहिक हत्या पुष्टि भएको छ। जनवरी १३, २०२६ मा भवानिपेट र पलवनचामा करिब १५० कुकुरको शव फेला परेको थियो भने जनवरी १४ मा फारिदपेटमा थप ९० भन्दा बढी कुकुर मारिएको पुष्टि भएको छ। यससँगै मृत कुकुरको संख्या करिब २५० पुगेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका