काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा भिन्नता भए पनि राष्ट्रिय हितका सवालमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताएकी छन्।
शुक्रबार नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनका लागि ११४ राजनीतिक दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै विचारको विविधता लोकतन्त्रको सुन्दर पक्ष भए पनि राष्ट्रिय हितका विषयमा एकता अपरिहार्य रहेको धारणा राखिन्।
‘चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्। फरक–फरक विचार भएकाले नै यति धेरै दल दर्ता भएका हुन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘आफ्नो विचार राख्न र पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दरता हो। तर राष्ट्रिय हितका विषयमा भने सबै शक्ति एक ठाउँमा उभिनुपर्छ।’
उनले अहिले निर्वाचनको पक्षमा पनि सबै एकताबद्ध हुनुपर्ने समय आएको बताइन्। ‘विषम परिस्थितिमा हामी सबै संयमित भएर अगाडि बढ्नुपर्छ। सबैको विचार एउटै हुँदैन र मेरो विचार मात्र सही हो भन्नु पनि लोकतान्त्रिक हुँदैन,’ उनले भनिन्, ‘आफ्ना विचार जनतासमक्ष लैजाने र जनताबाट अनुमोदन पाउने अवसर निर्वाचन हो। त्यसैले निर्वाचनलाई सफल पार्न सबै जुट्नुपर्छ।’
प्रधानमन्त्री कार्कीले चुनाव सफल बनाउन सरकार पूर्ण तयारीमा रहेको जानकारी दिँदै सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन आग्रह गरिन्। ‘हतियार र फरार कैदीमध्ये धेरै फिर्ता भइसकेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि आवश्यक स्रोत–साधन उपलब्ध गराइसकिएको छ। निर्वाचनका लागि छुट्टै प्रहरी भर्नाको प्रक्रिया पनि अघि बढाइएको छ,’ उनले भनिन्।
उनले फागुन २१ गते तय भएको निर्वाचन कुनै हालतमा नसरिने स्पष्ट पार्दै भनिन्, ‘ठूलो भूकम्प वा असाध्यै गम्भीर प्राकृतिक विपद् आए मात्र चुनाव रोकिएला। अन्यथा यो मितिमा चुनाव अवश्य हुन्छ। सबैले आ–आफ्नो तयारी गर्नुहोस्।’
प्रधानमन्त्री कार्कीले देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिप्रति आश्चर्य व्यक्त गरिन्। ‘दक्षिण एसियाका साना मुलुकहरू विभिन्न दबाब र चुनौतीमा छन्। हामी कस्तो मुलुक बन्ने भन्नेबारे गम्भीर सोच आवश्यक छ,’ उनले भनिन्, ‘मत–मतान्तर र छलफल स्वाभाविक हुन्, तर देश नै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति चिन्ताजनक छ।’
पुरानो र नयाँ सोचबीचको द्वन्द्वलाई घरभित्रकै विषय भन्दै त्यसलाई पारिवारिक वातावरणमै समाधान गर्नुपर्ने उनको भनाइ थियो। ‘हामी सबै एउटै घरका परिवार हौँ। नयाँ पुस्ता असन्तुष्ट देखिए भने उनीहरूको अपेक्षा बुझ्नुपर्छ। पुरानो सोच र तरिकाले अब काम चल्दैन, हामी सुध्रिन र सच्चिन जरुरी छ,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले यो सरकार निर्वाचन गराउनकै लागि गठन भएको दोहोर्याउँदै भनिन्, ‘सरकार गठनकै बेला फागुन २१ मा निर्वाचन गराउने स्पष्ट कार्यादेश दिइएको हो। त्यसबाट पछि हट्ने कुनै छुट हामीसँग छैन।’
भेटका क्रममा नागरिक बचाउ दल, नेपालका अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष पाँच बुँदे ज्ञापनपत्र पनि बुझाएका छन्।


