काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेल आज अपराह्न ४ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ।
क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा पुगेको थियो भने विराटनगर दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
सुदूरपश्चिमले लिगका सातमध्ये छ खेल जितेको छ भने विराटनगरले सातमध्ये पाँच खेलमा विजय हासिल गरेको थियो। लिग चरणमा सुदूरपश्चिमले एक मात्र पराजय विराटनगरसँगै भोगेको हो। विराटनगर भने चितवन र लुम्बिनीसँग पराजित भएको थियो।
आजको खेलको विजयी टोली सिधै फाइनल पुग्नेछ। पराजित टोली भने फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्ने मौका पाउनेछ।


