काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराँतीले पार्टी रूपान्तरणका लागि पाँच बुँदे लिखित प्रतिबद्धताको माग गरेका छन्। उनले आफ्ना मागहरू पूरा नभएसम्म पार्टीको आगामी यात्रामा सहभागी नहुने स्पष्ट संकेत दिएका छन्।
किराँतीले आफ्नो फेसबुक पोस्टमार्फत माओवादी पार्टी रूपान्तरणका लागि पाँच बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्। ती यसप्रकार छन्ः
१. संरचना र अधिकार बाँडफाँड — विधान संशोधन गरी नयाँ संरचना निर्माण र अधिकार बाँडफाँड गर्नुपर्ने उनले बताएका छन्। आवश्यक परे संरक्षकलाई पार्टी विघटन गरी अधिवेशन घोषणा गर्ने अधिकार दिनुपर्ने उनको भनाइ छ।
२. अपूर्ण र अपवित्र एकता रोक्नुपर्ने — भ्रष्टाचार सम्बन्धी मुद्दा चलिरहेको बेला गरिँदै गरेको अपूर्ण र अपवित्र पार्टी एकता तत्काल रोक्नुपर्ने माग उनले गरेका छन्।
३. पदाधिकारीको परिवर्तन — अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संरक्षक वा सर्वमान्य नेता बनाउँदै वर्तमान पदाधिकारी संरचनालाई निर्देशक कमिटीमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव उनले गरेका छन्।
४. केन्द्रीय राजनीतिक समिति गठन — स्थायी समितिदेखि अग्रज नेताहरू सम्मिलित केन्द्रीय राजनीतिक समिति गठन गर्नुपर्ने उनले बताएका छन्। यस समितिलाई राष्ट्रिय महत्त्वका निर्णय र सांसद छनोट गर्ने अधिकार दिनुपर्ने पनि उनको भनाइ छ।
५. तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी — तेस्रो पुस्तालाई कार्यकारी जिम्मेवारी दिनुपर्नेमा उनले जोड दिएका छन्। उनका अनुसार, यो पुस्ताले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर पार्टीलाई अघि बढाउने वा संकटमा परेको पार्टीलाई उद्धार गर्ने भूमिका खेल्न सक्छ।
नेता किराँतीले यी पाँचवटै विषय माओवादी पार्टी रूपान्तरणका लागि अनिवार्य आधार भएको बताएका छन्। उनले लिखित प्रतिबद्धता बिना आफू आगामी यात्रामा सहभागी नहुने बताएका छन्।



