काठमाडौँ, १२ असोज । प्रहरीले गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका कैदीबन्दीमाथि उच्च निगरानी राखेको जनाएको छ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार हालसम्म आठ हजार कैदी फर्किएका छन् भने अझै करिब छ हजार फरार छन्। उनले दसैँ, तिहार, छठलगायतका चाडपर्वमा सुरक्षाको संवेदनशीलता बढ्ने भएकाले नागरिकलाई पनि सतर्क रहन आग्रह गरे।
प्रवक्ता घिमिरेले फरार कैदीमध्ये कतिपय चोरडाका रहेको र कतिपयले गाउँ फर्केर बदलाको भावना बोकेर अपराध गर्न सक्ने सम्भावना भएकाले त्यस्ता व्यक्तिहरू देखिए तत्काल नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरे। यसका लागि आवश्यक सम्पर्क नम्बरहरू उपलब्ध गराइएको उनले जानकारी दिए।
उनका अनुसार सम्भावित जोखिम भएकाले सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा फरार कैदीहरूको विवरण पठाइएको छ। केही कैदी प्रहरीको सम्पर्कमा आइरहेका छन् भने आपराधिक मानसिकता भएका कैदीमाथि कडा निगरानी गरिएको छ।
भागेका कैदीहरूको खोजी अभियान जारी रहेको उल्लेख गर्दै उनले कुनै जानकारी भए नजिकैको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न नागरिकलाई अनुरोध गरे। उनका अनुसार प्रहरीको कडा निगरानीका कारण गलत गतिविधिमा संलग्न हुने कैदी जुनसुकै समयमा पक्राउ पर्न सक्नेछन्।
यसैबीच, कारागार व्यवस्थापन विभागले असोज २० गतेभित्र आफैँ कारागार फर्कन भागेका कैदीलाई आग्रह गरेको छ। केही कैदी भारततर्फ भाग्न खोज्दा भारतीय प्रहरीले पक्राउ गरी फिर्ता गरेका छन् भने कतिपयलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका छन्। यस्तै, केही कैदी स्वेच्छाले फर्किएर कारागार प्रवेश गरेको विभागले जनाएको छ।


