काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन्।
भदौ २४ मा महाराजगन्जमा असई रायलाई छटपटाइरहेको अवस्थामा अनुहारमा मुङ्ग्रो प्रहार गरी हत्या गरेको दृश्य भिडियोमा देखिएको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पौडेललाई धापासीबाट पक्राउ गरेको हो।
जेनजी प्रदर्शनको क्रममा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरी असई मिलन राय र जवान उत्तम थापाको हत्या गरेका थिए।
यसअघि असोज ४ मा प्रहरी हत्या आरोपमा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए। उनीविरुद्ध अनुसन्धानका लागि अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको थियो। यससँगै प्रहरी हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेहरूको संख्या दुई पुगेको छ।


