काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय आपत्तिजनक भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले जनचाहना अनुसार काम गर्न असफल भएको सरकारले अदालतको आदेशलाई बहाना बनाउँदै यस्तो कदम चालेको आरोप लगाएका छन्।
कोइरालाले लेखेका छन्, “जनचाहना र आफ्नै प्रतिबद्धताअनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ। यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज गर्न सक्छ?”
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल सच्याउन माग गर्दै उनले मर्यादित प्रयोग सुनिश्चित हुने गरी नियमन गर्ने बाटो अपनाउन सरकारलाई आग्रह गरेका छन्।


