काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत नेपालको पहिलो खेल आजदेखि सुरु हुँदैछ । बुधबार ताजकिस्तानको दुसान्बेस्थित पामीर स्टेडियममा नेपालले घरेलु टिम ताजकिस्तानसँग उद्घाटन खेल खेल्दैछ ।
खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे सुरु हुनेछ । समूह ‘के’ मा रहेको नेपालले ताजकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले सेप्टेम्बर ६ मा सिरियासँग र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्नेछ ।
टोलीका प्रमुख प्रशिक्षक नवीन न्यौपाने रहेका छन् । टोलीमा गोलकिपर क्रिसल मोक्तान, अमित टमाटा र विशाल केसी छन् । डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निग्मा लामा, राम थापा, शंकर थारु र सीमान्त थापा छन् ।
मिडफिल्डरतर्फ कप्तान आयुष घलानसँगै अभिषेक स्यान्तान, एरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिस रत्न छुन्जु, पुजन थापा, संजीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् । फर्वाडतर्फ निराजन धामी र रोहन खड्की छन् ।
यू–२३ राष्ट्रिय टोलीको कप्तानी यसअघि नै राष्ट्रिय टिममा खेलिसकेका आयुष घलानले गर्नेछन् ।


