Saturday, May 30, 2026
Homeअपराध र घटनालागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ पक्राउ

भक्तपुर:भक्तपुरमा अवैध लागुऔषध कारोबार र सेवन उल्लेख्य रूपमा बढेपछि जिल्ला प्रहरी परिसरले नियन्त्रण अभियान तीव्र पारेको छ । अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा आठ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, विभिन्न जिल्लाबाट भक्तपुरमा आएर डेरा गरी बस्ने व्यक्तिहरूले कारोबार बढाएका छन् र तिनैको प्रभावमा परी जिल्लावासी युवापुस्ता लागुऔषध सेवनतर्फ आकर्षित भइरहेका छन् । जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक माधव बुढाथोकीका अनुसार, प्रहरी वृत्त र परिसरबाट परिचालित टोलीले सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रबाट ती अभियुक्तहरूलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार, पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का २३ वर्षीय दिनेश लामा र सर्लाहीको लालबन्दी नगरपालिका–१ का १८ वर्षीय सागर लामा छन्, जो हाल मध्यपुरथिमि–६ सिघिकालीमा डेरा गरी बस्दै आएका थिए ।

प्रहरीले उनीहरूको कोठामा छापा मार्दा ४५१ थान ट्रमेनिल, १,१९० थान निटजिकेयर, ७२ थान निटरभेट, ८४० ग्राम पोल्याण्ड जातको गाँजा, ९५० मिलिग्राम खैरो हिरोइन, २ थान मोबाइल र रु ७,००० नगद बरामद गरेको छ ।

यसैगरी, प्रहरी टोलीले मध्यपुरथिमि–९ बोडेबाट अन्य छ जना युवालाई पनि पक्राउ गरेको छ । तीमध्ये २५ वर्षीय स्वदेश राई (खोटाङ), २९ वर्षीय छिरिङ लामा (काभ्रे), २५ वर्षीय अमीर बस्नेत (मध्यपुरथिमि), २१ वर्षीय सम्राट राई (मध्यपुरथिमि), र २७ वर्षीय विकास लामा (सिन्धुपाल्चोक, हाल काठमाडौँ) रहेका छन् । उनीहरू स्वदेश राईको कोठाबाट पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट ४५० थान इपेस्पेन, १८० थान ट्रामाडोल, १७३ थान स्टेगा, ४६६ थान पोल्याण्ड, रु ५,००० नगद र ३ थान मोबाइल बरामद गरिएको छ ।

त्यस्तै, प्रहरी टोलीले सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित डेराबाट नुवाकोटको ककनी गाउँपालिका–२ ओखरपौवा घर भई बस्दै आएका ३७ वर्षीय हरिनाथ कोइरालालाई १ ग्राम ३२ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ परेका सबै व्यक्तिहरूविरुद्ध लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका