Thursday, July 2, 2026
Homeराजनीतिआगामी बजेट निजी क्षेत्रको सहभागितामार्फत अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यमा : मन्त्री भण्डारी

आगामी बजेट निजी क्षेत्रको सहभागितामार्फत अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यमा : मन्त्री भण्डारी

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालको अर्थतन्त्र सुदृढ पार्न आगामी बजेटमा निजी क्षेत्रको सहभागितालाई थप सशक्त बनाइने बताएका छन्।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५ लाई सोमबार सम्बोधन गर्दै मन्त्री भण्डारीले एनआरएनएमार्फत एकीकृत पुँजी लगानी गर्न ल्याइएका सुझाव र मागहरूलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

उहाँले भने, “नेपालको अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक छ। वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य पुरा गर्न गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी र अनुभवलाई महत्वपूर्ण साझेदारको रूपमा लिएको छ।”

नीतिगत सुधारमा सरकारको सक्रियता
मन्त्री भण्डारीका अनुसार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानीमैत्री वातावरण बनाउने दिशामा सरकार अग्रसर छ। उहाँले मन्त्रालय, विभाग, कम्पनी रजिस्ट्रारको कार्यालयलगायत संस्थाहरूको सेवा प्रवाह, अनुमतिपत्र प्रदान प्रक्रिया तथा समग्र प्रणालीलाई सरल र सहज बनाउनेतर्फ ठोस पहल भइरहेको जानकारी दिए।

लगानी र रोजगारीको तथ्यांक
मन्त्री भण्डारीका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा उद्योग विभागमा ४३८ नयाँ उद्योग दर्ता भई रु १ खर्ब ७१ अर्ब ३६ करोडको लगानी स्वीकृत भएको छ। ती उद्योगहरूबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

यसैगरी, २०८१ फागुनसम्म उद्योग विभागमार्फत ३३३ अटोमेटिक र ६ हजार ६४९ अप्रूभल रुट मार्फत जम्मा ६ हजार ९८२ परियोजनामा रु ५ खर्ब ६४ अर्ब ५९ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको जानकारी पनि उनले दिए। यी उद्योगहरूबाट ३ लाख ३९ हजार ६७५ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ।

स्वदेशी उत्पादनमा विशेष जोड
उहाँले सरकार स्वदेशी कच्चापदार्थमा आधारित, आयात प्रतिस्थापन गर्न सक्ने वस्तुहरूको उत्पादनमा प्रोत्साहन दिइरहेको बताए। स्वदेशी उत्पादन र उपयोगमा जोड दिँदै उहाँले आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ सरकार गम्भीर रहेको उल्लेख गरे।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका