काठमाडौं: अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको विनाशकारी आँधी र भीषण हुरीबतासका कारण कम्तीमा १८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित मिसौरीमा मात्रै ११ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, मिसौरी, टेनेसी, अर्कान्सास, केन्टकी, इन्डियाना, र जर्जियाका विभिन्न क्षेत्रमा भीषण आँधीले जनजीवन प्रभावित बनाएको छ । मिसौरीका गभर्नर माइक पार्सनले शनिबार नै आँधीका कारण आपतकालीन अवस्था सिर्जना हुन सक्ने भन्दै सचेत गराएका थिए ।
मौसम विज्ञहरूले आगामी केही दिन मिसौरी र टेनेसीमा अझै चट्याङ, मुसलधारे वर्षा र तीव्र गतिको हावा चल्ने सम्भावना रहेको बताएका छन् । त्यसैले अधिकारीहरूले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् ।
जर्जियाका गभर्नर ब्रायन केम्पले आँधीका कारण राज्यभर आपतकाल घोषणा गर्दै स्थानीय प्रशासनलाई उद्धार र राहतका कामलाई तीव्र बनाउन निर्देशन दिएका छन् । उनले नागरिकलाई सुरक्षित स्थानमा बस्न तथा अत्यावश्यक बाहेक बाहिर ननिस्कन सुझाव दिएका छन् ।
यस भीषण प्राकृतिक प्रकोपका कारण हजारौं घरमा क्षति पुगेको छ भने, कैयौं मानिसहरू विद्युत् कटौतीका कारण अन्धकारमा बस्न बाध्य भएका छन् । उद्धार टोलीहरू प्रभावित क्षेत्रमा परिचालित गरिएका छन् भने संघीय सरकार समेत राहत कार्यमा जुटिरहेको छ ।
(नयाँ जानकारी प्राप्त भएमा समाचार अद्यावधिक गरिनेछ।)


