युरोपियन च्याम्पियन्स लिगअन्तर्गत स्पेनिस महारथी रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई समग्रमा ६-३ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
पहिलो लेगमा ३-२ ले विजयी भएको सिटीलाई रियलले बुधबार राति भएको दोस्रो लेगमा ३-१ गोलले पराजित गर्यो।
घरेलु मैदानमा रियलको जितका नायक केलियन एमबाप्पे बने, जसले ह्याट्रिक गर्दै ४औं, ३३औं, र ६१औं मिनेटमा गोल गरे। म्यानचेस्टर सिटीका लागि निको गोन्जालेजले ९०+२ मिनेटमा गरेको गोल सन्त्वनामै सीमित रह्यो।
सन् २०१२-१३ को सिजनपछि म्यानचेस्टर सिटी पहिलो पटक यति चाँडै च्याम्पियन्स लिगबाट बाहिरिएको हो। त्यस बेला सिटी समूह चरणबाटै बाहिरिएको थियो।
अन्य खेलहरू
युभेन्टस पनि प्रतियोगिताबाट बाहिरिएको छ। पिएसभीले समग्रमा ४-३ ले जित निकाल्दै युभेन्टसलाई हरायो। पहिलो लेगमा २-१ ले पराजित भएको पिएसभीले दोस्रो लेगमा ३-१ को शानदार जित निकाल्दै अन्तिम १६ मा प्रवेश गर्यो।
पेरिस सेन्ट जर्मेन (पिएसजी) समग्रमा १०-० को फराकिलो जितसहित अन्तिम १६ मा पुगेको छ। पहिलो लेगमा ३-० ले विजयी भएको पिएसजीले दोस्रो लेगमा ब्रेस्टलाई ७-० गोलले पराजित गर्यो।
बोरुसिया डर्टमन्ड पनि अन्तिम १६ मा पुगेको छ। पहिलो लेगमा ३-० को जित हात पारेको डर्टमन्डले बुधबार राति स्पोर्टिङ सिपीसँग गोलरहित बराबरी खेलेर समग्रमा ३-० को जित हासिल गर्यो।


