काठमाडौं: दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसिकको एआई च्याटबट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ।
दक्षिण कोरियाली सरकारी निकायले व्यक्तिगत डेटा सुरक्षा कानुनको उल्लंघन हुन सक्ने भन्दै एप स्टोरबाट डीपसिकको डाउनलोड अस्थायी रूपमा रोकिएको जनाएको छ। सरकारले आवश्यक “सुधार र सुरक्षाका उपायहरू” लागू गरिसकेपछि मात्रै एआई मोडेल कोरियाली प्रयोगकर्ताहरूका लागि पुन: उपलब्ध गराइने बताइएको छ।
डीपसिकको लोकप्रियता र अनुसन्धानमाथि चासो
यस हप्ता समाचारमा आएपछि डीपसिक दक्षिण कोरियामा अत्यधिक चर्चित बन्न पुगेको थियो। लाखौं प्रयोगकर्ताहरूले एप स्टोरबाट यसलाई डाउनलोड गरेका थिए, जसले यसको लोकप्रियता झन् बढायो।
तर, डीपसिकको डाटा सुरक्षासम्बन्धी नीति र गोपनीयता व्यवस्थापनको विषयमा विभिन्न देशहरूले अनुसन्धान थालेपछि दक्षिण कोरियाले पनि कदम चालेको हो। अन्य धेरै मुलुकहरूमा समेत यो च्याटबटमाथि निगरानी बढाइएको छ।
पहिले नै डाउनलोड गरेका प्रयोगकर्ताहरूलाई छुट
सरकारको निर्णयपछि नयाँ प्रयोगकर्ताहरूका लागि एप डाउनलोड रोकिएको छ। तर, पहिले नै एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूले डीपसिकलाई आफ्नो फोनमा निरन्तर प्रयोग गर्न सक्नेछन्। उनीहरूले डीपसिकको आधिकारिक वेबसाइटमार्फत पनि सेवाको प्रयोग गर्न सक्नेछन्।


