Thursday, June 25, 2026
Homeराजनीतिजनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध आवश्यक छः महामन्त्री थापा

जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध आवश्यक छः महामन्त्री थापा

चितवन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध आवश्यक रहेको बताउनुभएको छ। नेपाली कांग्रेस खैरहनी नगर समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीसँग समन्वय गरी परिणाममुखी काम गर्न आग्रह गर्नुभयो।

महामन्त्री थापाले कांग्रेसमा तल्लो तहदेखि माथिल्लो तहसम्म सबैको हैसियत बराबर रहेको भन्दै सबैले आफ्नो जिम्मेवारीअनुसार पार्टी हितमा योगदान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भने, “चैत महिनाभित्र क्रियाशील सदस्यता नवीकरण नभए १५ औँ महाधिवेशनमा भाग लिन पाइँदैन। भ्रातृ सङ्गठनहरूको अधिवेशन चैतभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ, त्यसअनुसार काममा लागौँ।”

उहाँले आगामी आम निर्वाचनमा कुनै गठबन्धन नहुने स्पष्ट पार्दै भने, “गठबन्धनको पक्षमा रहने व्यक्ति पार्टी सदस्य हुन सक्दैन। त्यसैले पार्टी संगठनलाई अहिलेदेखि नै बलियो बनाउन आवश्यक छ।”

महामन्त्री थापाले वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गर्न नपाउने चेतावनी दिनुभयो। उहाँले जोड दिँदै भन्नुभयो, “दुई ठूला पार्टीहरूको मिलनबाट बनेको यो सरकारलाई असफल हुन दिनुहुँदैन। यदि यसले काम गर्न सकेन भने अर्को सरकारले समृद्धिको यात्रा तय गर्न कठिन हुनेछ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, चितवन सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, सचिव ध्रुव पोख्रेल, नगर सभापति गुणराज श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका