Friday, June 19, 2026
Homeअर्थ र ब्यापाररसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन थाल्यो, वार्षिक तीन अर्ब २५ करोड कमाउने

रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन थाल्यो, वार्षिक तीन अर्ब २५ करोड कमाउने

काठमाडौँ: लामो प्रतीक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को नेतृत्वमा रसुवामा निर्माण गरिएको १११ मेगावाट क्षमताको यस आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। गोसाइकुण्ड गाउँपालिकामा निर्माण भएको आयोजनाका ३७–३७ मेगावाटका तीन युनिटमध्ये एक युनिटबाट परीक्षणका रूपमा विद्युत् उत्पादन थालिएको हो।

परीक्षणका रूपमा ४.२ मेगावाट विद्युत् उत्पादन गरिएको थियो। परीक्षण सफल भएपछि क्रमशः विद्युत् उत्पादन बढाउने योजना रहेको छ। करिब एक महिनाभित्र सबै युनिटबाट व्यावसायिक उत्पादन सुरु गरिने रसुवागढी हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक छवि गैरेले जानकारी दिनुभयो।

आयोजनाले निर्माण गरेको १० किलोमिटर लामो १३२ केभी प्रसारण लाइनमार्फत टिमुरे (तातोपानी) स्थित विद्युत्गृहबाट उत्पादित विद्युत् थम्बुचेतस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा जोडिएको छ। त्यहाँबाट चिलिमे–त्रिशूली र त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनमार्फत विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ।

यस आयोजनाबाट उत्पादित विद्युत्ले हिउँदयाममा काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति सहज बनाउनेछ। तर, सुक्खायाममा पानीको बहाव कम हुने भएकाले आयोजनाबाट ३७ मेगावाट मात्र उत्पादन हुनेछ।

आयोजनाको निर्माण कार्य इपिसी मोडलमा चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन र भोइथ हाइड्रो प्रालि भारतसँग ठेक्का सम्झौतामा आधारित रहेर गरिएको हो। निर्माण कार्य २०७० पुसदेखि सुरु भए पनि २०७२ को भूकम्प, बाढीपहिरो, मधेस आन्दोलन, कोभिड–१९ महामारीजस्ता कारणले समय लम्बिएको थियो।

आयोजनाको लागत प्रारम्भिक अनुमानभन्दा बढेर रु १८ अर्ब ६९ करोड पुगेको छ। निर्माण अवधिको व्याज मात्रै रु ६ अर्ब रहेको अनुमान गरिएको छ। लागत ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट जुटाइएको हो।

कम्पनीमा चिलिमे जलविद्युत्को ३२.७९ प्रतिशत, प्राधिकरणको १८ प्रतिशत, रसुवाका स्थानीय तहको ०.२१ प्रतिशत संस्थापक शेयर छ। साधारण शेयरको ४९ प्रतिशतमध्ये कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको १५.५ प्रतिशत, आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाको १० प्रतिशत, र आमसर्वसाधारणको १५ प्रतिशत रहेको छ।

आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ। यसबाट कम्पनीले वार्षिक रु ३ अर्ब २५ करोड आम्दानी गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका