काठमाडौं: कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँगै जापान गएका व्यक्तिहरूले ठूलो रकम बुझाएको खुलेको छ। प्रहरीको बयानअनुसार उनीहरूले १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको देखिएको छ।
मानव तस्करीसँग जोडिएको विवादमा आएपछि मन्त्री अधिकारीले बुधबार पदबाट राजीनामा दिएका थिए। मन्त्री अधिकारीसँगै उडेका तीन जना र कीर्ते कागजात बनाउन संलग्न तीन जनालाई मिलाएर ६ जनामाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ।
जापानको अध्यागमनले मन्त्रीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, जनक राई र २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेको थियो। तीमध्ये दुई जनाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयकै परिचयपत्र बोकेका थिए भने एक जनासँग वडा सदस्यको परिचयपत्र थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई अध्यागमन कार्यालयबाट पत्राचार भएपछि ती तीनै जनालाई पक्राउ गरिएको थियो। अहिले उनीहरुविरुद्ध किर्ते आरोपमा अनुसन्धान भइरहेको छ। उनीहरूको बयानका आधारमा किर्ते परिचयपत्र बनाउन सहयोग गरेका जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरी अनुसन्धानमा महेश पाण्डेको भूमिका बढी देखिएको छ। प्रारम्भिक बयानका क्रममा, उनले १० देखि १३ लाख रुपैयाँसम्म लिएको उल्लेख गरेका छन्।
यस प्रकरणमा तत्कालीन मन्त्री अधिकारीलाई अहिलेसम्म अनुसन्धानको दायरामा नराखिएको बुझिएको छ। तर, यो विषयलाई मानव तस्करीसँग जोडेर अनुसन्धान गरिने बताइएको छ।


