काठमाडौँ: हामी नूनबिनाको जीवन कल्पना पनि गर्न सक्दैनौं। हेर्दा मुखै रसाउने खाउँ-खाउँ लाग्दो खाना अलिनो भए हामी खान सक्दैनौं। खानामा नूनको अत्यन्त महत्व छ।
विज्ञहरूका अनुसार नूनमा पाइने सोडियमले शरीरमा पानीको उचित मात्रा कायम राख्न मद्दत गरेको हुन्छ । ‘नून हाम्रो सबै न्युरोन्स, मस्तिष्क, मेरुदण्ड र सबै मांसपेशीहरू सहित सक्रिय कोशिकाहरूको लागि समेत अत्यावश्यक वस्तु हो । तर यही नून हामीले सन्तुलन मिलाएर सेवन नगरेको अवस्थामा अर्थात् आवश्यकभन्दा बढी मात्रामा यसको सेवन गरेको अवस्थामा भने हाम्रो स्वास्थ्यमा निकै प्रतिकूल असर समेत गर्न सक्छ ।
नून कम भयो भने हाइपोनेट्रेमिया निम्त्याउन सक्छ, जसले भ्रम, बान्ता, दौरा, चिडचिडापन र कोमा जस्ता गम्भीर अवस्थाहरू निम्त्याउन सक्छ।
जसकारण खानामा ५ ग्राम नून नियमित खानुपर्ने विश्व स्वास्थ्य संगठनले भनेको छ ।
तर अहिले मानिसहरूले हरेक दिन खानामा ११ ग्राम नून खाइरहेका छन् । जसले हृदय रोग, ग्यास्ट्रिक, क्यान्सर, ओस्टियोपोरोसिस, मोटोपन र मृगौला रोगहरूको जोखिम बढाइरहेको छ । विश्व स्वास्थ्य संगठनको अनुमान छ कि अत्यधिक नून सेवनका कारण विश्वभर हरेक वर्ष करिब १८.९ लाख मानिसको मृत्यु हुन्छ ।
विश्वभर एक अर्बभन्दा बढी मानिस उच्च रक्तचापबाट पीडित छन् । चिकित्सकहरूका अनुसार नून कम खाँदा यसलाई रोक्न र उपचार गर्न मद्दत गर्न सक्छ।


