Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियबेलायतको नयाँ प्रधानमन्त्रीमा कियर स्टारमर नियुक्त

बेलायतको नयाँ प्रधानमन्त्रीमा कियर स्टारमर नियुक्त

काठमाडौं। लेबर पार्टीका नेता सर कियर स्टारमर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।

बेलायतका राजा चार्ल्स तृतीयले उनलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै १४ वर्षपछि विपक्षी लेबर पार्टी सत्तामा फर्केको छ।
त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाएका थिए।

बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जित हासिल गरेको थियो। लेबरको जित अघिल्लो आमनिर्वाचनको तुलनमा २११ सिटले बढी छ।

६५० सदस्य रहेको बेलायती संसद हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ। लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याएपछिको यो दोस्रो ठुलो सफलता हो। प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रिटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्टारमरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताएका छन्।

विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ। सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ। यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन्।

बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रा। सूर्यप्रसाद सुवेदीले लेबरको आप्रवासी नीति अलि उदार रहेको बताउँदै श्रमिकको पक्षमा उभिने भएकाले नेपाललगायतबाट आउने श्रमिकका लागि नकारात्मक असर नपर्ने बताए। उनले भूतपूर्व गोर्खाको विषयमा पनि लेबर सकारात्मक हुन सक्ने बताएका छन्।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका