Friday, April 17, 2026
Homeअन्तराष्ट्रियरूसले भारतलाई एस-४०० मिसाइल रक्षा प्रणाली दिने

रूसले भारतलाई एस-४०० मिसाइल रक्षा प्रणाली दिने

काठमाडौं। रुस र भारतबीच एस–४०० मिसाइल प्रणालीको खरिद बढाउने विषयमा वार्ता भइरहेको छ। रुसी समाचार एजेन्सी टासले एक वरिष्ठ रक्षा अधिकारीलाई उद्धृत गर्दै रुस भारतलाई अतिरिक्त आपूर्ति गर्न तयार रहेको उल्लेख गरेको छ।

भारतले सन् २०१८ मा ५ वटा एस–४०० प्रणाली खरिद गर्न ५.४ अर्ब डलरको सम्झौता गरेको थियो। अहिलेसम्म तीनवटा प्रणाली भारतले प्राप्त गरिसकेको छ भने बाँकी दुई २०२६–२७ भित्र डेलिभरी हुने अपेक्षा गरिएको छ।

यही प्रणालीले अपरेशन सिन्दूर पछि पाकिस्तानले प्रक्षेपण गरेको ड्रोन र मिसाइललाई आकाशमै नष्ट गरी असफल बनाएको थियो।

हालै सम्पन्न सांघाई सहयोग संगठन (SCO) को बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको थियो। मोदीले पुटिनलाई ‘मित्र’ भनेर सम्बोधन गर्दै भारत र रुस कठिन समयमा पनि एकअर्काको साथमा उभिएको उल्लेख गरे।

तर, यस सम्झौतामा चुनौतीहरू पनि छन्। अमेरिकाले भारतलाई कात्सा (CAATSA) कानुन अन्तर्गत प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। त्यस्तै, चीनले पनि यस सम्झौतामा ध्यान दिएको छ, किनभने उसले आफैंले पनि एस–४०० प्रणाली प्रयोग गरिरहेको छ। वार्ता जारी छ र सबै कुरा ठिक भए यो प्रणाली चाँडै उपलब्ध हुने सम्भावना छ।

स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युट (SIPRI) का तथ्यांकअनुसार, सन् २०२० देखि २०२४ सम्म भारतको हतियार आयातमा रुसको हिस्सा ३६ प्रतिशत, फ्रान्सको ३३ प्रतिशत र इजरायलको १३ प्रतिशत थियो।

एस–४०० ‘ट्राइअम्प’ रूसको सबैभन्दा उन्नत वायु रक्षा प्रणाली हो, जसलाई सन् २००७ मा परिचालनमा ल्याइएको हो। यसले लडाकु विमान, ब्यालिस्टिक तथा क्रूज मिसाइल, ड्रोन र स्टिल्थ विमानसमेत नष्ट गर्न सक्ने क्षमता राख्छ।

यो प्रणाली हावाबाट हुने विभिन्न खतराबाट जोगाउन सक्षम बलियो ढाल मानिन्छ र संसारकै अत्याधुनिक वायु रक्षा प्रणालीमध्ये एक मानिन्छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका