रौतहट: रौतहटको गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गरेको छ। कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहका अनुसार, साउनदेखि पुस मसान्तसम्ममा रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ।
भन्सार विभागले आर्थिक वर्ष २०८१/८२ का लागि रु ३५ करोड ४३ लाख ७८ हजार राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा पहिलो छ महिनामा कार्यालयले ८५ प्रतिशत लक्ष्य हासिल गरेको सिंहले जानकारी दिए। यो अवधिमा पुस महिनामा सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ, जसमा रु तीन करोड ४७ लाख १४ हजार राजस्व उठाउन सफल भएको र यो महिना लक्ष्यभन्दा १७ प्रतिशतले बढी रहेको उनले बताए। गौर भन्सार कार्यालयले वार्षिक लक्ष्य हासिल गर्ने उद्देश्यले सक्रियताका साथ काम गरिरहेको छ।
यसैबीच, रौतहट प्रहरीले साउनयता रु दुई करोड ४२ लाख ७७ हजार ४४३ बराबरका चोरी निकासीका सामान बरामद गरी गौर भन्सारमा बुझाएको छ। रौतहट प्रहरी प्रमुख दिलीप घिमिरेका अनुसार, सो अवधिमा ६६ जना व्यक्तिसहित एक सय आठवटा मोटरसाइकल, दुई पिकअप भ्यान, दुई स्कारपियो गाडी, १४ साइकल र चार सिटीरिक्सा बरामद गरिएको छ।
त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोही अवधिमा रु ६८ लाख २४ हजार पाँच सय राजस्व सङ्कलन गरेको घिमिरेले जानकारी दिए।


