Tuesday, April 21, 2026
Homeअपराध र घटना३३ किलो सुन तस्करी प्रकरणमा ‘गोरे’लाई थप १० वर्ष जेल सजाय

३३ किलो सुन तस्करी प्रकरणमा ‘गोरे’लाई थप १० वर्ष जेल सजाय

काठमाडौँ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’लाई थप १० वर्ष जेल सजाय हुने फैसला गरेको छ। न्यायाधीश महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले सनम शाक्य हत्या कसुरमा उक्त सजाय थप गरेको हो। उप्रेती यसअघि नै जन्मकैद सजाय भोगिरहेका छन्।

मोरङ जिल्ला अदालतले यसअघि सुन तस्करीको प्रमाण पर्याप्त नभएको ठहर गर्दै सनम शाक्य हत्या प्रकरणमा मात्र आठ जनालाई दोषी ठहर गरेको थियो। तस्करी गरेर ल्याएको सुन हराएको आरोपमा ‘गोरे’ समूहले यातना दिएर शाक्यको हत्या गरेको अभियोग थियो।

२०७४ फागुन १८ मा मोरङको उर्लाबारीमा भएको उक्त घटनामा अदालतले चूडामणि उप्रेती ‘गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्मकैद सजाय सुनाएको थियो। साथै राजनकुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई छ महिनाको कैद सजाय तोकिएको थियो।

उच्च अदालत विराटनगरले अभियुक्त नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको सजाय १० वर्ष घटाएर १० वर्ष मात्र कायम गरेको छ। मतियारको भूमिकामा रहेका मदन सिलवाललाई जिल्ला अदालतको फैसला उल्ट्याउँदै तीन वर्ष कैद सजाय सुनाइएको छ भने लाक्पा शेर्पा र भविन तामाङको हकमा जिल्ला अदालतकै फैसला सदर गरिएको छ।

के थियो घटना?

चूडामणि उप्रेती ‘गोरे’को समूहले फ्लाई दुबईको विमानमार्फत तस्करी गरेर ल्याएको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको बताइएको थियो। तर सुन बीचमै हराएपछि तस्कर समूहले मोरङ उर्लाबारीका सनम शाक्यलाई यातना दिएको थियो। धरान र मोरङको जंगलमा गरिएको यातनाबाट शाक्यको मृत्यु भएको थियो।

घटनापछि सनमको शव धरानबाट बरामद गरी विराटनगर लगिएको थियो। घटनास्थल परिवर्तन गरिएको भन्दै अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरूको भूमिकामाथि पनि प्रश्न उठेको थियो।

सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले करिब तीन महिना अनुसन्धान गरे पनि ३३ किलो सुन फेला पार्न सकेन। अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न ठूला समूह र व्यक्तिहरूको नाम समेत सार्वजनिक गरिएको थियो।

त्यस्तै २०७५ पुसमा भारतको कोलकातामा उक्त सुन बरामद भएको दाबी गरिएको थियो। भारतीय राजस्व अनुसन्धान विभाग (डीआरआई) ले ७ डिसेम्बर २०१८ मा दिल्ली–कोलकाता राजमार्गस्थित दानकुनी टोल प्लाजामा ३३ किलो सुनसहित दुई नेपाली नागरिकलाई पक्राउ गरेको जानकारी दिएको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका