काठमाडौँ, २९ असार: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देशविदेशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
संस्कृत भाषामा रचित अयोध्याका राजा रामको जीवनकथालाई नेपालीमा भावानुवाद गरेर प्रस्तुत गरिएको रामायणमार्फत भानुभक्तले नेपाली जनतामाथि गहिरो सांस्कृतिक योगदान गर्नुभएको थियो। आज पनि उहाँद्वारा लेखिएको रामायण नेपालीका घरघरमा सस्वर लयबद्ध रूपमा पाठ गरिन्छ।
पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक रूपमा एकीकृत गरेझैं, भानुभक्तले भाषा, साहित्य र संस्कृतिको माध्यमबाट नेपाललाई सांस्कृतिक रूपमा एकीकृत गर्नुभएको थियो। विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मनुभएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भन्ने सन्देश दिँदै नेपाली रामायण सिर्जनामा लाग्न प्रेरित गराएको भनिन्छ।
वधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, रामगीता र विभिन्न फूटकर रचनाहरू उहाँका अन्य महत्त्वपूर्ण कृतिहरू हुन्। कुमारी चोकको लेखाप्रशासनको हिसाब मिलाउन नसकेर जेल परेका भानुभक्तले सरकारी ढिलासुस्ती र ‘भोलिवाद’को कटु आलोचना गर्दै लेख्नुभएको थियो—
“भोलिभोलि भन्दैमा सब घर बितिगो,
बक्सियोस् आज झोली।”
भानुभक्तको ऐतिहासिक योगदानले नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र सांस्कृतिक चेतनालाई मजबुत बनाएको छ। उहाँको विचार र योगदानबारे समीक्षात्मक छलफल गर्नुपर्ने आजको आवश्यकता रहेको साहित्यिक समालोचकहरूको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयमा भानुभक्तबारे स्नात्तकोत्तर तहमा थुप्रै शोधग्रन्थहरू लेखिएका छन्। यसै सन्दर्भमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको शालिकमा माल्यार्पण र प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।
घरघरमा रामायण पाठ गरी भानु जयन्ती मनाउने चलन रहेको छ भने भाषा, साहित्य र संस्कृति क्षेत्रमा क्रियाशील संस्थाहरूले पनि विभिन्न कार्यक्रमको आयोजना गरेका छन्।
यद्यपि, भानुभक्तभन्दा पहिला पनि नेपाली भाषामा कविहरू सक्रिय थिए भन्ने तर्कको आधारमा उहाँलाई ‘आदिकवि’ भन्न मिल्दैन भन्ने मत पनि देखापरेको छ। तर त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीका अनुसार, भानुभक्तले रामायणजस्तो गहन ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकतामा पुर्याएको योगदानकै कारण उहाँलाई आदिकवि भन्नु न्यायोचित छ।
भानुभक्त आचार्यको निधन विसं १९२५ असोजमा भएको थियो। उहाँको जयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी समुदाय रहेका देश र स्थानहरूमा पनि श्रद्धापूर्वक मनाइन्छ।


