Saturday, May 2, 2026
Home Blog Page 9

इस्लामावादमा इरान–अमेरिका शान्ति वार्ता पुनः सुरु, विश्वले हेर्दै आशाको नजर

0

लन्डन — मध्यपूर्वमा बढ्दो तनावलाई कम गर्दै सम्भावित युद्ध अन्त्यतर्फ लैजान इस्लामावादमा शान्ति वार्ताको दोस्रो चरण औपचारिक रूपमा सुरु भएको छ। संयुक्त राज्य अमेरिकाइरानबीच जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा परेको असरका बीच यो वार्ता विशेष महत्त्वका साथ हेरिएको छ।

कूटनीतिक स्रोतहरूका अनुसार, पछिल्ला असमझदारीहरू हटाउँदै दिगो युद्धविरामको स्पष्ट मार्गचित्र तयार पार्ने उद्देश्यले उच्चस्तरीय संवाद अघि बढाइएको छ। वार्तामा अमेरिकी विशेष दूत तथा इरानी विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू प्रत्यक्ष रूपमा सहभागी छन्।

यसअघि अप्रिलको मध्यतिर भएको प्रारम्भिक चरणले ठोस उपलब्धि दिन नसके पनि नयाँ कूटनीतिक सक्रियताले वार्तालाई पुनः गति दिएको छ। विश्वका प्रमुख शक्ति राष्ट्रहरूले पनि दुवै पक्षलाई लचिलो बन्न आग्रह गर्दै विशेषगरी होर्मुज जलमार्गमा देखिएको अवरोध हटाउन जोड दिएका छन्।

शान्ति वार्ताको सकारात्मक सङ्केतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत केही स्थिरता देखिन थालेको छ। युद्धका कारण जलमार्ग अवरुद्ध हुँदा विश्वव्यापी आपूर्ति शृङ्खलामा समस्या आएको थियो र मूल्यले उच्च स्तर छोएको थियो। वार्ता सुरु भएको खबरसँगै लगानीकर्ताहरूमा आशा बढेको छ।

यद्यपि, इरानको आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षासम्बन्धी मुद्दामा दुवै पक्षका अडान अझै कडा रहेका कारण तत्कालै ठोस समाधान निस्कनेमा विश्लेषकहरू सावधानी अपनाइरहेका छन्।

तथापि, वार्ताको टेबलमा फर्कनु नै सकारात्मक संकेत मानिएको छ। आगामी चरणहरूमा हुने सहमति र प्रगतिले मात्र यस द्वन्द्वको दीर्घकालीन समाधान र विश्व अर्थतन्त्रमा स्थिरता ल्याउने अपेक्षा गरिएको छ।

इरानको तेल व्यापारमा अमेरिकाको कडाइ, चिनियाँ रिफाइनरीसहित दर्जनौँ संस्थामाथि प्रतिबन्ध

0

काठमाडौं — अमेरिकी विदेश मन्त्रालयले इरानको अवैध तेल व्यापार नियन्त्रण गर्न “निर्णायक कदम” चालिरहेको जनाएको छ। सो मन्त्रालयका अनुसार शुक्रबार अमेरिकी अर्थ विभागले थप प्रतिबन्ध घोषणा गर्दै यस अभियानलाई तीव्र बनाएको हो।

नयाँ प्रतिबन्धहरू एक स्वतन्त्र तथा ठूलो चिनियाँ रिफाइनरीसहित करिब ४० अन्य संस्था र पूर्वाधारहरूलाई लक्षित गरिएको बताइएको छ। ती संस्थाहरूलाई इरानको तेल निर्यातका लागि “महत्त्वपूर्ण जीवनरेखा” का रूपमा प्रयोग भइरहेको अमेरिकी पक्षको दाबी छ।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यस्ता कदमहरूले इरानी शासनलाई मध्यपूर्व क्षेत्रमा कथित रूपमा भइरहेको अस्थिर गतिविधिहरूका लागि प्राप्त हुने आर्थिक स्रोतहरू कटौती गर्ने उद्देश्य राखेको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, “संयुक्त राज्य अमेरिका इरान र यसको अवैध ऊर्जा व्यापारलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय सञ्जालमाथि आर्थिक दबाब अझ बढाउने प्रतिबद्धतामा छ।”

यो कदमसँगै संयुक्त राज्य अमेरिकाले इरानमाथिको आर्थिक नीतिलाई थप कडा बनाउँदै लैजाने संकेत दिएको विश्लेषण गरिएको छ।

झण्डै ८० प्रतिशत सुकुमबासी आफैँ बस्ती छाडेर हिँडे

0

काठमाडौँ — सरकारले शनिबार थापाथलीगैह्रीगाउँस्थित सुकुम्बासी बस्तीहरू कुनै अवरोध बिना शान्तिपूर्वक खाली गराएको छ। काठमाडौँ महानगरपालिकाका अनुसार बस्ती व्यवस्थापन प्रक्रिया सहज रूपमा सम्पन्न गरिएको हो।

महानगरले खाली गराइएका बस्तीका बासिन्दाहरूलाई अस्थायी रूपमा विभिन्न होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको जनाएको छ। यस क्रममा सुरक्षाकर्मी र महानगरका कर्मचारीहरूले समन्वय गरेर स्थानीयलाई आवश्यक सहयोग उपलब्ध गराएका थिए।

यता मनोहरा क्षेत्रमा भने आइतबारदेखि बस्ती पूर्ण रूपमा खाली गराउने तयारी गरिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार नदी किनारामा अवैध रूपमा निर्माण गरिएका संरचनामा बसोबास गर्ने करिब ८० प्रतिशत बासिन्दाले पहिले नै आफ्नो सामानसहित बस्ती छाडिसकेका छन्।

उनले बाँकी परिवारहरूले पनि आफ्नो घरायसी सामग्री सार्ने कार्य जारी राखेको जानकारी दिए। उक्त क्षेत्रमा करिब ७७७ घरटहरामा १ हजार ६०० भन्दा बढी मानिस बसोबास गर्दै आएका थिए।

हालसम्म मनोहरामा डोजर प्रयोग गरिएको छैन। तर अधिकांश घरहरू खाली भइसकेकाले आइतबारदेखि डोजर प्रयोग गरी बस्ती पूर्ण रूपमा हटाउने सरकारको तयारी रहेको प्रहरीले जनाएको छ।

समग्रमा, यसपटक बस्ती व्यवस्थापन प्रक्रिया विगतभन्दा शान्तिपूर्ण र व्यवस्थित ढंगले अगाडि बढाइएको देखिएको छ।

मानवीय शैलीमा थापाथली बस्ती खाली: सुरक्षाकर्मी नै बने सहारा(तस्बिरसहित)

0
फोटो स्रोत: सामाजिक संजाल

काठमाडौं — थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती खाली गराउने कार्य यसपटक विगतभन्दा फरक र मानवीय ढंगले अघि बढाइएको छ। स्थानीय बासिन्दाको खाद्यान्न, लत्ताकपडा तथा घरायसी सामग्री सुरक्षित स्थानमा सार्न नेपाल प्रहरी स्वयं सक्रिय रूपमा जुटेको देखिएको छ।

बस्ती खाली गराउने क्रममा कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले प्रशासनले उच्च सतर्कता अपनाएको छ। सोहीअनुसार नेपाल प्रहरीसशस्त्र प्रहरी बलको ठूलो सङ्ख्या परिचालन गरिएको छ। तर यसपटकको दृश्य विगतका झडप र तनावपूर्ण अवस्थाभन्दा बिल्कुल फरक देखिएको छ।

स्थानीयका अनुसार, सुरक्षाकर्मीहरूले केवल बस्ती खाली गराउने मात्र नभई उनीहरूको दुःखमा साथ दिने काम पनि गरिरहेका छन्। घरभित्र रहेका सामान निकाल्नदेखि बोकेर सुरक्षित स्थानसम्म पुर्‍याउनसम्म सुरक्षाकर्मीहरू आफैं खटिएका छन्। विशेषगरी वृद्ध, महिला र बालबालिकालाई प्राथमिकता दिँदै उनीहरूको दैनिक जीवनसँग जोडिएका अत्यावश्यक सामग्री जोगाउन सहयोग गरिएको छ।

प्रशासनले शान्तिपूर्ण रूपमा व्यवस्थापन गर्ने रणनीति अपनाएको बताउँदै कुनै पनि प्रकारको झडप हुन नदिन संवाद र समन्वयलाई प्राथमिकता दिएको जनाएको छ। यसले स्थानीयमा केही हदसम्म भरोसा पनि बढाएको छ।

थापाथली क्षेत्रको यो दृश्यले एकातिर राज्यको कानुनी कार्यान्वयन देखाउँछ भने अर्कोतर्फ सुरक्षाकर्मीहरूको मानवीय पक्ष पनि उजागर गरेको छ।

‘मानवीय संवेदनशीलताको ख्याल गरिन्छ’: कार्यवाहक मेयर डंगोल

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर तथा कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरभित्रका नदी किनार र सार्वजनिक क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने कार्यमा केन्द्र सरकारलाई पूर्ण सहयोग गर्ने स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जालमार्फत महानगरको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक, सरकारी र सामुदायिक जग्गाको संरक्षण गर्दा मानवीय पक्षलाई विशेष ध्यान दिइने प्रतिबद्धता जनाएकी हुन्।

नेपाल सरकारका सम्बद्ध मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले नदी किनारका अतिक्रमण हटाउन गरेको निर्णय कार्यान्वयन गर्न महानगरपालिका सहयोगी भूमिकामा रहने उनले उल्लेख गरेकी छन्। नगर कार्यपालिकाका सदस्यहरूबीच भएको छलफलको निष्कर्ष सुनाउँदै उनले अनधिकृत संरचना हटाउने प्रक्रियामा मानव अधिकारका न्यूनतम मूल्य मान्यतालाई आत्मसात् गरिने बताइन्।

विशेषगरी हटाउने क्रममा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने उनको भनाइ छ। महानगरले यो कार्यलाई सकेसम्म विवादरहित, सुरक्षित र कानुनसम्मत ढंगले अगाडि बढाउने प्रयास गर्नेछ।

संरचना हटाउँदा सम्मानजनक व्यवहार सुनिश्चित गरिने र न्यायको सिद्धान्त विपरीत नहुने गरी व्यवस्थापन गरिने उनले स्पष्ट पारिन्।

डंगोलले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने यस अभियानमा आवश्यक सहयोग र समन्वय गर्न सबै सरोकारवाला निकाय, पदाधिकारी र सर्वसाधारणसँग अपिल समेत गरेकी छन्।

सुकुमबासी बस्ती हटाउने क्रममा अवरोधको आशंका, थप दुई जना पक्राउ

0

काठमाडौँ । सुकुमबासी बस्ती हटाउने कार्यमा अवरोध गर्नसक्ने आशंकामा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४१ वर्षीय राजकुमार लामा र ५२ वर्षीय अर्जुन कुँवर रहेका छन्।

उनीहरूलाई गएराति पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जानकारी दिएका छन्। सरकारले आजदेखि थापाथली, गैह्रीगाउँ र मनहरा फाँट क्षेत्रका सुकुमबासी बस्तीका घर तथा टहरा हटाउने कार्य सुरु गरेको छ।

पक्राउ परेका राजकुमार लामा हाल बालाजुमा बसोबास गर्दै आएका छन् भने अर्जुन कुँवर पर्वत फलेबास–११ घर भई काठमाडौँ महानगरपालिका–११ मा बस्दै आएका छन्।

यसअघि प्रहरीले संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाका महासचिव आरएन कुँवर, सल्लाहकार दलमर्दन कामी, दिनेश सुनार तथा कार्यवाहक अध्यक्ष नारायण परिश्रमी (नारायण परियार) लाई पनि पक्राउ गरिसकेको छ। यससँगै बस्ती हटाउने क्रममा अवरोध गर्नसक्ने आशंकामा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।

तराईमा तातो लहरको चेतावनी, पहाडी क्षेत्रमा वर्षा सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार दिउँसो मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको समेत सम्भावना देखिएको छ।

आज कोशी प्रदेशसहित अन्य हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रहरूमा आंशिक बदली रहने जनाइएको छ। कोशी प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका साथै कोशी प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

आज राति भने कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

११औँ भूकम्प स्मृति दिवस मनाइँदै, जोखिम न्यूनीकरणमा जोड

0

काठमाडौं । आज ११औँ भूकम्प स्मृति दिवस विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदै छ। विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको स्मृतिमा यो दिवस मनाइँदै हो।

७.६ म्याग्निच्युडको उक्त भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। भूकम्पका कारण ८ हजार ९७९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार ३०९ जना घाइते भएका थिए। हजारौँ घर, विद्यालय, स्वास्थ्य संस्था तथा ऐतिहासिक संरचनाहरू ध्वस्त भएका थिए।

विनाशकारी भूकम्पपछि पुनर्निर्माण, पुनःस्थापना तथा सुरक्षित पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

यस वर्ष पनि भूकम्पीय जोखिम न्यूनीकरण, सुरक्षित संरचना निर्माण तथा विपद् पूर्वतयारीबारे जनचेतना फैलाउने उद्देश्यका साथ विभिन्न सरकारी तथा गैरसरकारी निकायले सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन्।

भूकम्पलाई रोक्न नसकिने भए पनि पूर्वतयारी, सुरक्षित निर्माण र सचेतनाका माध्यमबाट सम्भावित क्षति न्यूनीकरण गर्न सकिने सन्देशसहित आज भूकम्प स्मृति दिवस मनाइँदै छ।

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५१ नजिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।

यस्तै, युरो एकको खरिददर १७६ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०६ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४२ पैसा, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०१ पैसा र बिक्रीदर २२ रुपैयाँ १० पैसा, साउदी रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा तोकिएको छ।

यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ११ पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

केन्द्रीय बैंकका अनुसार स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३८ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६० पैसा र बिक्रीदर २३ रुपैयाँ ६९ पैसा, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा तथा कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८२ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार बहराइन दिनार एकको खरिददर ३९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०० रुपैयाँ १६ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९० रुपैयाँ ९० पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

भूकम्प जोखिम न्यूनीकरणमा जनचेतना आवश्यक: राष्ट्रपति पौडेल

0

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आमजनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय, पूर्वतयारी, प्रतिकार्य तथा सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

११औँ भूकम्प स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै उनले प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको नेपालमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताएका हुन्। यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरेका छन्।

राष्ट्रपति पौडेलले गोरखाको बारपाक केन्द्रविन्दु भई १२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्प तथा त्यसपछिका पराकम्पमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

भूकम्प रोक्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, सुरक्षित निर्माण र सतर्कता अत्यावश्यक रहेको उनले बताएका छन्। तीव्र शहरीकरणका कारण प्रत्येक वर्ष भूकम्पीय जोखिम बढ्दै गएको उनको भनाइ छ।

नेपालको भौगोलिक अवस्थिति, भौतिक संरचनाको प्रकृति तथा मानव निर्मित पूर्वाधारहरू भूकम्पीय जोखिमका प्रमुख कारण भएकाले सुरक्षित निर्माणलाई प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरेका छन्।

नवनिर्मित तथा पुनर्निर्मित संरचनामा मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले पुनर्निर्माण तथा पुनःस्थापनामा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।